१० श्रावण २०८१, बिहीबार

पोल र तार छ विजुली छैन



अछाम । साविकको हिच्चा र ढकारी गाविसमा सातसय बढी घरधुरीमा बिजुली बाल्ने उत्साहले तीन वर्षअघि घरघरमा वाइरिङ गरियो । बिजुलीको उज्यालो पाउने भएपछि स्थानीयले सदरमुकाम मंगलसेन पुगेर बिजुलीका सामग्री बोकेर घरमा जोडेका थिए । तर अहिलेसम्म विजुली बलेको छैन भने विजुलीका सामाग्री खिया लाग्न थालिसकेका छन ।
विजुली नबलेपछि स्थानीयले उज्यालोको वैकल्पिक व्यवस्था गरिरहेका छन् । ढकारी गाउँपालिकामा रहेको चाइराखोला लघुजलविद्युतमा प्राविधिक त्रुटीका कारण जेनेटरमा आगलागी भएर बिजुली बन्द भएपछि ७७३ घरधुरीले बिजुली बाल्ने रहर अधुरै बनेको छ । २०७३ कार्तिकमा डेढ माहिना चलेर बन्द भएको बिजुली हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
बिजुली बाल्ने आसमा रहेका ढकारी र हिच्माका बासिन्दा पुनः टुकी, सोलारमा भर परेका छन् । बिजुली पाउने भएपछि स्थानीयले २५ दिनसम्म आयोजनाको निशुल्क काम मात्रै गरेनन् प्रतिघरधुरी एक÷एक हजार रुपियाँ उठाएर आयोजनामा लगानी समेत गरेका छन् । “बिजुलीका नाउँमा गाउँलेको श्रम र नगद लगानी अहिले सम्झनु न बिर्सनु भएको छ ।” स्थानीय लेखनाथ भण्डारीले भने । दोब्रे समैजीबाट तीनहजार एकसय २० मिटर कुलो बनाएर निर्माण गरिएको सो आयोजनामा जेनेटर मर्मतको अभावमा बिजुली बन्द हुन पुगेको छ ।
बिजुलीको उज्यालोमा आफ्नो काम सम्पन्न गर्ने योजनामा रहेका स्थानीयले पुरानै अवस्था झेल्नु परेको बताउने गरेका छन् । उपभोक्ता समितिको लार्पवाहीका कारण बिजुली बाल्नबाट आफूहरु बञ्चित भएको स्थानीयको भनाइ छ । “उपभोक्ता समिति वेपत्ता छ, बिजुली बनाउन कसैले चाँसो दिएका छैनन ।” बिजुली बाल्न पाउनेमा स्थानीयले आस मारिसकेको भण्डारीको भनाइ छ । उपभोक्ता समितिले आयोजना मर्मतमा कुनै पहल नै नगरी सम्पर्कमा नै नरहने गरेको स्थानीयको आरोप छ । तर सो आयोजना उपभोक्ता समिति अध्यक्ष राजबहादुर शाही विभिन्न ठाउँमा पहल गर्दासमेत उपलब्धि नभएको बताउछन । “दश÷बाह्र लाख भए बिजुली बल्थ्यो, विभिन्न ठाउँमा धाएरपनि अहिलेसम्म कसैले सहयोग गरेनन, बिजुली बन्द नै छ ।” समिति अध्यक्ष शाहीले भने ।
गाउँपालिकाले योजनाको रकमकोे बारेमा हिसाबकिताव नपाउँदासम्म गाउँपालिकाले कुनै सहयोग नगर्ने गाउँपालिका अध्यक्ष धनबहादुर बुढाको भनाइ छ । “बिग्रको बिजुली बनाउन के गर्नुपर्ने हो ? कति पैसा खर्च भयो र अब खर्च हुने भन्नेमा उपभोक्ता समिति सम्पर्कमै छैन ।” अध्यक्ष बुढाले थपे “हामी जनताले बिजुली चाँडो बालन पाउन भन्नेमा छौ तर हिसाब चाहियो ।” उपभोक्ता समितिको अध्यक्ष नै कैलाली गएर बसेका कारण विद्युत सञ्चालनमा अवरोध भएको गाउँपालिका अध्यक्षको भनाइ छ । उपभोक्ता समितिलाई प्रक्रियागत रुपमा गएपनि बिजुली बाल्न गाउँपालिकाले पहल गरिदिन स्थानीयको माग रहेको छ ।
२०६७ मा सम्झौता भएको चाइराखोला जलविद्युत आयोजनाको काम २०६९ बाट शुरु भएर २०७३ मा सम्पन्न भएपछि स्थानीयले दुई महिनापनि बिजुली बाल्न पाएनन् । नेपाल मेसिन हाइड्रोपावर कम्पनीसँगको सम्झौताअनुसार दुई करोड ४८ लाखको ’लागत स्टिमेट’ उक्त लघुजलविद्युत आयोजना निर्माण थालनी गरिएको थियो । वैकल्पिक उर्जा, संघसंस्था, तत्कालिन गाविस र स्थानीय वासिन्दा लगायतले सो लघुजलविद्युतमा लगानी गरेका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार