१० श्रावण २०८१, बिहीबार

सम्पादकीय : सुदूरपश्चिम महोत्सव र समृद्धिको सवाल



हरेक वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सव चौधौं शृंखलाका रुपमा अहिले सञ्चालनमा छ । सुरुदेखि नै सुदूरपश्चिम महोत्सवले प्रदेशका आर्थिक समृद्धिका लागि केही ठोस मुद्दा प्रस्तुत गर्दै आएको छ । मुलुकभरी वर्षभरी दर्जनौ महोत्सव, व्यापरिक औद्योगिक मेला आयोजना हुन्छन् । प्रायः महोत्सवको एकैनाशको विशेषता हुनेगर्दछ, तर यस अर्थमा सुदूरपश्चिम महोत्सव विकासका मुद्दा र आधार उठान तथा त्यसप्रति सरकारको गम्भीर ध्यानकार्षणका साथै सिर्जनात्मक दबाव बृद्धिमा विशेष हुने गरेको विश्लेषण अत्य्क्ति हुदैन । यस पटकको सुदूरपश्चिम महोत्सवको नारा नै “समृद्ध सुदूरपश्चिमका लागि ः आर्थिक समृद्धि’ रहेको छ । चौध वर्षअघि आयोजना गरिएको पहिलो सुदूरपश्चिम महोत्सवमार्फत सरकारसमक्ष एक्काइस वटा माग प्रस्तुत गरिएका थिए । यस पटक सात वटा माग प्रस्तुत गरिएका छन् । सुदूरपश्चिमको आर्थिक समृद्धिका आधारका रुपमा पहिचान भइसकेका तथा कमोवेश सबैले स्वीकार गरेका मुद्दाहरूलाई नै महोत्सवमार्फत मागका रुपमा पुनः सरकासमक्ष प्रस्तुत गरिएको छ । यसको अर्थ हो, महोत्सवमार्फत आयोजक कैलाली उद्योग बाणिज्य संघले सरकारसमक्ष प्रस्तुत गरेका मागहरूमध्ये अधिकांस पुरा भइसकेका छन् ।
सुदूरपश्चिम महोत्सव अहिलेको अवस्थामा आइपुग्दा यसप्रतिको आकर्षणमा कुनै कमी भएको छैन । यो महोत्सव धनगढीमा आयोजना हुने गरेको भए पनि प्रदेशका सबै जिल्लाबासीका लागि उत्तिकै आकर्षणको अवसर बनेको छ । त्यसैले यो महोत्सवलाई सुदूरपश्चिम प्रदेशको एउटा महत्वपूर्ण पर्वका रुपमा लिने गरिएको छ । वास्तवमा धेरै हदसम्म व्यापारिक, औद्योगिक तथा रमाइलो मेलाका रुपमा रहे पनि सुदूरपश्चिम महोत्सवले विशिष्ठ परिचय बनाउन सफल भएको छ भन्दा अत्युक्ति हुदैन । महोत्सवका क्रममा प्रस्तुत हुने उत्तेजक तथा केही हदसम्म छाडा नृत्य र हाउपाउ, चालू तथा हल्का खालका गीतसंगीतको पाटोलाई अलग गर्ने हो भने तथा आगामी दिनमा कम गर्दै जाने हो भने यो महोत्सव अझ विशेष बन्नेमा विमति रहदैन । त्यस्तै, महोत्सवलाई सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिका लागि मञ्चका रुपमा विकास गर्नेतर्फ पनि ध्यान दिनु आवश्यक देखिन्छ । महोत्सव अवधिमा आर्थिक विकासकाबारे सरोकारवालाहरूमाझ बहस, प्रदेशका आर्थिक विकासका अवरोधहरूको चिरफार तथा आगामी दिनका लागि भरपर्दो आधारको निर्माण लगायतका कार्यक्रम पनि समावेश गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।
सुदूरपश्चिम महोत्सवलाई अझ बढी विशेष बनाउन यसमार्फत सुदूरपश्चिम प्रदेशको मौलिक कलासंस्कृति, साहित्य, भेषभूषा, रहनसहनको प्रवद्र्धनात्मकमूलक कार्यक्रम समावेश गरिनु उचित हुनेछ । त्यस्तै, महोत्सव अवधिमा बाह्य पर्यटकलाई सुदूरपश्चिमका केही विशेष पर्यटकीय स्थलको भ्रमणका साथै पर्यटन विकासका लागि सरोकारवालाहरूबीच छलफल जस्ता कार्यक्रम समावेश गरिनु पनि उचित हुने छ । समग्रमा सुदूरपश्चिम महोत्सवलाई बहुआयामिक बनाउने र बढीभन्दा बढी साझेदारहरूलाई आयोजनमा आवद्ध गर्नेतर्फ छलफल चलाउने वेला भइसकेको छ । यो महोत्सव निजी क्षेत्रले आयोजना गर्ने कार्यक्रम भए पनि यसलाई प्रदेशको साझा कार्यक्रमका रुपमा स्थापित गर्न बढीभन्दा बढी पक्षबीच समन्वय र सहकार्य विकास गर्नेतर्फ सोचिनु उचित हुनेछ । सुदूरपश्चिम महोत्सवलाई अझ बढि सभ्य, मर्यादित र उपलब्धीमुलक बनाउन नया“ ढंगको बहस सार्थक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार