१० श्रावण २०८१, बिहीबार

धान उत्पादनमा बृद्धि



  • गरिमा धान नफले पनि कैलाली र कञ्चनपुरमा समग्रमा धान उत्पादन सन्तोषजनक
  • पहाडी तीन जिल्लामा उत्पादनमा ह्रास

शेरबहादुर ऐर/धनगढी
सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । कैलाली र कञ्चनपुर जिल्लामा गरिमा धान नफले पनि समग्रमा धान उत्पादनमा राम्रो बृद्धि भएको तथ्यांकले देखाएको छ ।
यस वर्ष न्युन वर्षा, गरिमा धान तथा धान खेतीको क्षेत्रफलमा ह्रास भए पनि गत वर्षको तुलनामा प्रदेशभरी समग्रमा ३७ हजार एक सय ७६ मेट्रिक टन बढी धान उत्पादन भएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।
प्रदेश कृषि निर्देशनालयको तथ्यांक अनुसार यस वर्ष एक लाख ८१ हजार तीन सय ३७ हेक्टरमा धानखेती गरिएकोमा छ लाख ४७ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको छ ।
गत वर्ष प्रदेशमा एक लाख ८१ हजार तीन सय ९८ हेक्टरमा धान खेती गरिएकोमा छ लाख १० हजार तीन सय २८ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रदेशमा धानखेतीको क्षेत्रफल ६१ हेक्टर कम थियो ।
कृषि निर्देशनालयका अनुसार प्रदेशका नौ वटा जिल्लामध्ये चार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । प्रदेशको बझाङ, अछाम र बाजुरामा धान उत्पादन घटेको जनाइएको छ । ती जिल्लामा समयमा वर्षा नभएको धान उत्पादनमा ह्रास आएको हो ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुरमा यस वर्ष गरिमा जातको धानमा बाला लागेन । कैलालीमा पाँच सय ७७ दशमलव ७३ हेक्टर र कञ्चनपुरमा ७५ दशमलव सात हेक्टर समेत पाँच सय ८३ दशमलब ४३ हेक्टरमा गरिमा धान खेती गरिएको थियो । गरिमा जातको हाइव्रीड धानमा वाला नलागेको हुँदा दुई हजार आठ सय ९५ मेट्रिक टन उत्पादन ह्रास भएको निर्देशनालयले जनाएको छ ।
प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले गरिमा धान नलगाएको भए ४० हजार मेट्रिकटन बढी धान उत्पादन हुने बताए । निर्देशक जोशीले किसानहरूले उन्नत र हाईब्रेड वीऊ लगाउनु, सिँचाईको सुविधामा विस्तार, मलको प्रयोग, औषधि, अनुदानलगायत कारणले यस वर्ष धान उत्पादनमा बृद्धि भएको बताए ।

कुन जिल्लामा कति उत्पादन
प्रदेश कृषि निर्देशनालयले दिएको विवरण अनुसार यस वर्ष पनि सबैभन्दा बढी धान उत्पादन भएको जिल्ला कैलाली हो । कैलालीमा यस वर्ष गरिमा धानका कारण दुई हजार पाँच सय ९९ दशमलव ७८ मेट्रिक टन घटे पनि समग्रमा २६ हजार चार सय दशमलब दुई मेट्रिक टन उत्पादन बढेको जनाइएको छ ।
कैलालीमा गत वर्ष ७१ हजार सात सय १० हेक्टरमा धान खेती गरिएकोमा दुई लाख ९३ हजार छ सय ९५ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष तीन लाख २० हजार ९५ दशमलव दुई मेट्रिक टन उत्पादन भएको छ ।
कञ्चनपुरमा गत वर्ष ४८ हजार चार सय ९६ हेक्टरमा धान खेती गरिएकोमा एक लाख ७२ हजार तीन सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष ४८ हजार चार सय ७५ हेक्टरमा धान खेती गरेर एक लाख ८८ हजार सात सय ५७ मेट्रिक टन धान उत्पादन भएको छ । कञ्चनपुरमा गरिमा धानका कारण दुई सय ९५ दशमलव २३ मेट्रिक टन धान उत्पादन हुन सकेन ।
त्यस्तै, डडेल्धुरामा गत वर्ष छ हजार दुई सय २६ हेक्टरमा धान खेती गरिएकोमा ३० हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष छ हजार एक सय ७६ हेक्टरमा धान खेती गरिएकोमा १९ हजार सात सय ६३ मेट्रिक टन धान उत्पादन भएको छ । डडेल्धुरामा ५० हेक्टरमा वर्षा ढिलाई भएका कारण रोपाई हुन नसकेको निर्देशनालयले जनाएको छ ।
डोटीमा गत वर्ष १० हजार ६ सय ७० हेक्टरमा धान खेती गरिएकोमा २६ हजार छ सय ७५ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १० हजार सात सय १० हेक्टरमा धान खेती गरिएकोमा २९ हजार नौ सय ८८ मेट्रिक टन धान उत्पादन भएको छ । डोटीमा गत वर्षको तुलनामा यस वर्ष ४० हेक्टर क्षेत्रफलमा धान रोपाई भएका कारण उत्पादनमा वृद्धि भएको जनाइएको छ ।
त्यस्तै, बैतडीमा गत वर्ष नौ हजार हेक्टरमा धान खेती गरिएकोमा १६ हजार नौ सय मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १७ हजार एक सय ९० मेट्रिक टन धान उत्पादन भएको छ ।
दार्चुलामा गत वर्ष चार हजार चार सय ८० हेक्टरमा धान खेती गरिएकोमा १० हजार चार सय ३४ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १० हजार पाँच सय २८ मेट्रिक टन उत्पादन भएको छ ।
त्यस्तै, बझाङमा गत वर्ष सात हजार छ हेक्टरमा धान खेती गरिएकोमा १४ हजार चार सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १३ हजार आठ सय ६५ मेट्रिक टन धान उत्पादन भएको छ ।
त्यस्तै, बाजुरामा गत वर्ष सात हजार दुई सय ३० हेक्टरमा धान खेती गरिएकोमा १३ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष सात हजार दुई सय हेक्टरमा धान खेती गरिएकोमा १२ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको छ । बाजुरामा सयममै वर्षा नभएका कारण ३० हेक्टरमा रोपाई हुन सकेन छ ।
अछाममा गत वर्ष १६ हजार पाँच सय ८० हेक्टरमा धान खेती गरिएकोमा ३८ हजार नौ सय ९७ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष ३४ हजार आठ सय १८ मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार