१२ श्रावण २०८१, शनिबार

निष्ट एलपीएल शुरु : लिटल फ्लावरको विजयी शुरुवात



धनगढी । धनगढीमा शनिबारदेखि निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग (निष्ट एलपीएल) शुरु भएको छ ।


प्रतियोगिताको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले ब्याटिङ गर्दै उद्घाटन गरे । सो अवसरमा उनले धनगढीमा क्रिकेट प्रतियोगिता सञ्चालनमा प्रायोजन गर्ने निजी कम्पनीहरूलाई उपमहानगरपालिकाले करछुटको व्यवस्था गरिने बताए ।
एलपीएलको उद्घाटन खेलमा लिटिल फ्लावर स्कुलले विजयी शुरुवात गरेको छ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलमा लिटिल फ्लावरले त्रिनगर माविलाई नौ विकेटले पराजित गर्‍यो ।
लिटिल फ्लावरको जीतमा विपिन रावलको बिस्फोटक अर्धशतकीय पारी तथा दिपक रोकायाको धारिलो बलिङ उल्लेख्य रह्यो । विपिनले २४ वलमा छ छक्का र चार चौका हिर्काउदै ५९ रन बनाएपछि त्रिनगरले दिएको एक सय रनको विजयी लक्ष्य लिटिल फ्लावरले छ दशमलव चार ओभरमा एक विकेट क्षतिमा पुरा गर्‍यो ।
लिटिल फ्लावरका सुवोध ऐरले १० रन तथा नरेन भट्टले ११ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिनगर १८ दशमलव तीन ओभरमा ९९ रनमा अलआउट भयो ।
त्रिनगरका सन्दीप बिष्टले ३२, दिपक जोशीले १८ तथा जनक पाण्डेयले १६ रन बनाए ।
त्रिनगरलाई सामान्य रनस्कोरमा समेट्ने क्रममा लिटिल फ्लवारका दिपक रोकायाले चार विकेट लिए । त्यस्तै, महेश अधिकारी र अनिल थापाले दुई/दुई विकेट लिए ।
खेलको म्यान अफ द म्याच लिटिल फ्लावरका दिपक रोकाया बने ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताका आगामी २६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा देशका विभिन्न जिल्लाका १२ विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैया पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार