११ पुष २०८१, बिहीबार

विद्युत प्राधिकरणले निःशुल्क मिटर वितरण गर्दै



बैतडी । नेपाल विद्युत् प्राधिकरणले बैतडी जिल्लाका विभिन्न स्थानमा निःशुल्क रुपमा मिटर वितरण गर्ने भएको छ । स्थानीय तह तथा वडाको सिफारिसका आधारमा अति गरीब, अपांगता, एकल महिला, द्वन्द्व पीडित परिवारहरूलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने नेपाल विद्युत प्राधिकरण बैतडीका सुपरभाइजर माधवप्रसाद लेखकले बताए ।


विभिन्न वडा तथा स्थानीय तहले सिफारिस गरेका व्यक्तिको नामावली संकलनको काम भइरहेको र क्षेत्रीय कार्यालयबाट मिटर आउनेबित्तिकै विद्युत् मिटर उपलब्ध गराउने उनले बताए ।
नया“ विद्युतीकरण भएका ठाउँका नागरिकलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने सुपरभाइजर लेखकले बताए । अहिलेसम्म दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाट अति गरीब, अपांगता, एकल महिला, द्वन्द्वपीडितको नाम सिफारिस भएर आएको सुपरभाइजर लेखकले बताए ।
यसैबीच पाटन नगरपालिकाभित्रका ७५ जनाले निःशुल्क रुपमा विद्युत् मिटर पाउने भएका छन । नगरपालिकाभित्रका अति गरीब, अपांगता, एकल महिला, द्वन्द्वपीडितलाई प्रत्येक वडामा विद्युत् मिटर वितरणको तयारी भएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए ।
नगरपालिकाका एक वडाबाट सात जना र नगरपालिकाले सिफारिस गरेका पा“च जना गरी पाटन नगरपालिका भरिका ७५ जनाले निःशुल्करुपमा विद्युत् मिटर पाउने भएका हुन् । विद्युत् प्राधिकरणको कार्यक्रमअनुसार वडा र नगरपालिकाले सिफारिस गरेका व्यक्तिको घरमा निःशुल्करुपमा विद्युत् मिटर वितरण गरिने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार