११ श्रावण २०८१, शुक्रबार

निष्ट एलपीएलको तयारी अन्तिम चरणमा



धनगढी । धनगढीमा हुन गईरहेको ‘निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग’ (एलपीएल) को तयारी अन्तिम चरणमा पुगेको छ ।


कात्तिक १६ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू धनगढीस्थित संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले लिगमा देशभरीबाट १२ विद्यालयका टिम सहभागी हुने जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने टिमले आफ्नो विद्यालयका १० जना तथा चार जना खेलाडी नेपालका १९ वर्षमुनिमा खेलाडी राख्न पाउने नियम बनाइएको उनले बताए ।
प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैया पुरस्कार पाउने छन् ।
त्यस्तै प्लेयर अफ द टुर्नामेन्टले १५ हजार, बेष्ट बलर, बेष्ट ब्याट्सम्यान र राईजिङ प्लेयरले जनही पाच हजार रुपैया प्राप्त गर्ने छन् भने प्रत्येक खेलका म्यान अफ द म्याचले एक हजार पाच सय रुपैया पुरस्कार पाउने छन् ।
पत्रकार सम्मेलनमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष हरि रेग्मीले निजी क्षेत्रबाट भईरहेका प्रतियोगिताहरुले क्यानलाई आफ्ना गतिविधी अगाडी बढाउन मद्दत पुगेको बताए ।
एलपीएललाई दश लाख रुपैया सहयोग गर्ने मुख्य प्रायोजक निष्ट कलेज तथा निष्ट फाउण्डेसनका अध्यक्ष माधवप्रसाद बरालले सुदूरपश्चिममा हुने सानाठुला प्रतियोगिताहरुलाई निरन्तर सहयोग गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार