१२ श्रावण २०८१, शनिबार

पुल निर्माणका लागि जारी रिले अनसन स्थगित



बैतडी । बैतडीको झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै ३७ दिनदेखि जारी रिले अनसन सोमबारदेखि स्थगित गरिएको छ । अब राजधानी केन्द्रीत आन्दोलन अघि बढाइने जनाइएको छ । झुलाघाट मोटरेवल पुल निर्माण संघर्ष समितिले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै रिले अनसन स्थगित गरिएको जनाएको छ ।


संघर्ष समितिका संयोजक नरबहादुर चन्दद्वारा जारी प्रेस विज्ञप्तीमा ३७ दिनसम्म रिले अनसन गर्दा पनि सरकारबाट कुनै किसिमको प्रतिक्रिया नआएका कारण अनसन स्थगित गर्नु परेको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ– रिले अनसनको ३७ औ“ दिन बितिसक्दा पनि सरकारी पक्षबाट कुनै किसिमको प्रतिक्रिया नआउनु यस क्षेत्रका लागि दुर्भाग्य र विडम्बना हो । फलस्वरुप संघर्षका कार्यक्रम परिवर्तन गरी केही समय रिले अनसन स्थगित गर्न संघर्ष समिति बाध्य भएको छ । विज्ञप्तीमा ‘संघर्षका कार्यक्रम केही समयका लागि संघिय राजधानी केन्द्रीत गर्ने निर्णय भएको’ उल्लेख छ ।
झुलाघाटमा पक्की पुल निर्माण लागि थालिएको संघर्षका क्रममा सहयोग र ऐक्यवद्धता जनाउने सबैमा धन्यवाद समेत ज्ञापन गरिएको छ । अगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा विज्ञप्ती मार्फत संघर्ष समितिले गरेको छ । ३७ दिन सम्म जारी रिले अनसनमा चार सय ७० जनाले सहभागिता जनाएको संघर्ष समितिले जनाएको छ ।
विगतमा झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै बैतडीबासीले शान्तिपूर्ण दबाबमुलक कार्यक्रम गर्दै आएकोमा कुनै सुनवाई नहुने देखिएपछि भदौं २२ गतदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन सुरु गरिएको थियो ।
विगतमा भारतसंग जोड्ने सुदूरपश्चिमको मुख्य नाका रहेको झुलाघाटमा सुगौली सन्धीपछि १८९१ म झोलुङगे पुल निर्माण गरिएको थियो । बिक्रम सम्वत २०५९ सालमा झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै उद्योग वाणिज्य संघ बैतडीको अगुवाईमा सीमावर्ती भारतका समेत गरी १० हजार जनाको हस्ताक्षर संकलन गरी नेपाल सरकारलाई ज्ञापनपत्रका रुपमा बुझाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार