झुलाघाटमा बिओपी स्थापना हुँदै
बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना हुने भएको छ । अघिल्लो वर्ष सदरमुकाममा स्थापना भएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मले यो वर्षभित्र सीमानामा झुलाघाटमा बोर्डर आउट पोष्ट स्थापना हुने जनाएको छ ।
सीमानाका झुलाघाटमा बोर्डर आउट पोष्ट स्थापनाको लागि जग्गा खोजी कार्य जारी रहेको शसस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिए । जग्गाको टुंगो लाग्ने बितिक्कै बोर्डर आउट पोष्ट स्थापना हुने उनले बताए ।
बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५० जनाको टोली रहने जनाइएको छ । सीमानाकामा बोर्डर आउट पोष्ट स्थापना भएपछी सीमाक्षेत्रमा भारतीय प्रहरी र शसस्त्र प्रहरीको आवश्यकताअनुसार गस्ती गर्ने शसस्त्र प्रहरी नायव उपरिक्षक सिंहले बताए ।
यसका साथै सीमामा हुने चोरीनिकासी, तस्करी, लागुऔषध ओसारपोसार नियन्त्रण हुने विश्वास गरिएको छ ।
झुलाघाटमा शसस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना भएपछी सीमाक्षेत्रमा हुने अपराधिक क्रियाकलाप, करछली न्युनीकरण हुने झुलाघाट बजार व्यवस्थापन समिति अध्यक्ष लवदेव जोशीको भनाइ छ ।