१० श्रावण २०८१, बिहीबार

सम्पादकीय : पर्यटन दिवसको सार्थकता



आज विश्व पर्यटन दिवस । नेपालमा पनि सरकारी तथा निजी क्षेत्रबाट पर्यटन दिवस मनाइदै छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन मन्त्रालयको आयोजनामा कार्यक्रम भइरहेको छ भने पर्यटन व्यवसायी तथा उद्याग बाणिज्य संघले समेत छुट्टाछुट्टै रुपमा कार्यक्रम आयोजना गर्दैछन् । त्यस्तै, प्रत्येक स्थानीय तहले पनि आफ्नै ढंगले पर्यटन दिवस मनाइरहेका छन् । प्रायः दिवसहरूलाई औपचारिकतामा सिमित गरिन्छ । अथवा केही गरेको देखाउन औपचारिक कार्यक्रम आयोजना गरिन्छन् । पर्यटन दिवस पनि यसबाट अछुतोे रहन नसक्ने विभिन्न निकाय तथा क्षेत्रले आआफ्नै ढंगले पर्यटन दिवस मनाउने तयारीबाट पनि अनुमान गर्न सकिन्छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा यस वर्षको पर्यटन दिवस विशेष महत्वका साथ तथा एकिकृत रुपमा मनाइनु पर्दथ्यो । सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तह तथा पर्यटन विकासको क्षेत्रमा काम गरिरहेका संघसंस्था र निजी क्षेत्रलाई समेटेर निश्चित उद्देश्य र लक्ष्यसहित विश्व पर्यटन दिवस मनाउने पहल गर्नुपर्दथ्यो । बिडम्बना यस पटक पनि यस्तो कुनै पहल हुनसकेन । अर्थात्, विश्व पर्यटन दिवसलाई सरकारले औपचारिकता पुरा गर्ने आयोजनका रुपमा मात्रै ग्रहण ग¥यो ।
पर्यटनलाई प्रदेशको द्रुत आर्थिक समृद्धिको बलियो र प्रमुख आधारका रुपमा पटकपटक प्रस्तुत गरिएको छ । प्रदेश सरकारले समृद्धिका प्रमुख तीन आधारमा कृषि, पर्यटन र जलस्रोतलाई नै प्राथमिकतामा राखेको छ । सुदूरपश्चिम प्रदेशको द्रुत आर्थिक समृद्धिका लागि यी तीन आधार नै प्रमुख हुन् भन्नेमा विमति पनि रहदैन । तर, फेरि पनि प्रमुख सवाल भनेको यी आधारलाई कसरी प्रभावकारी तथा उपलब्धीमुलक ढंगले उपयोग र परिचालन गर्ने भन्ने नै हो । विश्व पर्यटन दिवस मनाइरहदा प्रदेश सरकारले सबै पक्षको समन्वयमा पर्यटन विकासका सम्भावना र चुनौतिबारे व्यापक छलफल गर्ने, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना बनाउनेतर्फ ध्यान दिनु पर्दथ्यो । बिडम्बना यस पटक पनि सरकार यसमा चुकेको अवस्था छ । नेपाल भ्रमण वर्षका लागि नेपाल सरकारले प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गर्दा नै व्यापक असहमति तथा असन्तुष्टि सिर्जना भएको प्रसंगलाई एक पटक पुनः स्मरण गरिनु पर्दछ । अहिले सो समिति पुनर्गठन गर्ने भनिएको छ, तर फेरि पनि यसको प्रभावकारिताप्रति कमैले मात्र विश्वास गरेको अवस्था देखिन्छ ।
पर्यटन दिवस मनाइरहदा कम्तिमा पर्यटन विकासका क्षेत्रमा विद्यमान चुनौतिबारे गम्भीरतापूर्वक छलफल गर्ने तथा विगतका कमीकमजोरीलाई दोहोरिन नदिनेतर्फ पनि उत्तिकै सजगता अपनाउनु जरुरी छ । प्रमुख रुपमा प्रत्येक स्थानीय तहमा सबैभन्दा बढि सम्भावना रहेको पर्यटन गन्तव्यको स्पष्ट पहिचान गरी त्यसैमा लगानी बृद्धि गर्ने तथा संरक्षण र संवद्र्धनका प्रयासका साथै पर्यटकलाई आकर्षित गर्ने प्रभावकारी योजना कार्यान्वयनमा ध्यान दिइनु पर्दछ । पर्यटन विकासका लागि कार्यान्वयनको जिम्मेवारी निजी क्षेत्रले नै बहन गर्नुपर्दछ । सरकारले पर्यटन विकासका लागि उचित वातावरण निर्माण गर्न आवश्यक नीति र ऐनकानूनको निर्माण गर्ने तथा पूर्वाधार निर्माणमा लगानी बढाउनेतर्फ ध्यान केन्द्रीत गर्नु आवश्यक छ भन्ने दोहोराइरहनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार