१२ श्रावण २०८१, शनिबार

प्रदेश सरकारद्वारा प्रहरीलाई गाडी हस्तान्तरण



धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई नौ वटा पिकअप भ्यान वितरण गरेको छ ।

प्रदेशमा रहेका सबै जिल्ला प्रहरी कार्यालयलाई मन्त्रालयले तीन करोड ३२ लाख ९१ हजार रुपैयाँको गाडी प्रदेश प्रहरी कार्यालयमार्फत् हस्तान्तरण गरेको हो । प्रति गाडी ३६ लाख ९९ हजारमा नौ वटा गाडी मन्त्रालयले २०७६ असार २५ गते खरिद गरेको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी तारिणीप्रसाद सम्साललाई गाडीको चावी हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री शाहले शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सघाउ पु¥याउने उद्देश्यले नेपाल प्रहरीलाई गाडी दिएको बताए । उनले प्रहरी संरचना प्रदेश मातहत आएपछि गाडी दिने गरी बजेट विनियोजन भएकोमा प्रहरी समायोजन ढिलो भएकाले मंगलबारको मन्त्री परिषदको बैठकबाट निर्णय गरी गाडी हस्तान्तरण गरिएको बताए ।
मन्त्री शाहले प्रदेश सरकारले प्रदेशको शान्ति सुरक्षाका लागि प्रहरीलाई आवश्यकताको आधारमा थप सुविधा दिइने बताए । उनले सशस्त्र प्रहरीलाई समेत प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताए ।
उनले प्रदेशका प्रहरी कार्यालयहरुको भवन निर्माण, मर्मत सम्भार लगायतका काममा प्रदेश सरकारले तत्पर रहेको बताए । उनले त्यसका लागि पहिले प्रहरी समायोजन गरी प्रदेश प्रहरी गठन गर्नुपर्ने बताए ।


संघीय संसद्बाट नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्ने ऐन तथा नेपाल प्रहरी र प्रदेश प्रहरी सञ्चालन, समन्वय र व्यवस्थापन ऐन पारित भइसकेको बताउँदै मन्त्री शाहले प्रदेश प्रहरी गठनको बाटो फराकिलो ढंगले खुलेको बताए । उनले प्रदेश सरकारले प्रदेश लोक सेवा ऐन समेत बनाइसकेको हुनाले तत्काल प्रदेश प्रहरी गठनको मार्ग प्रसस्त भएको बताए ।
कानुन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा सम्पन्न गाडी हस्तान्तरण कार्यक्रममा मन्त्रालयका कर्मचारी लगायत कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र विभिन्न प्रहरी कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार