४ माघ २०८१, शुक्रबार

कालंगा हाईड्रोमा तोडफोड प्रकरण : कम्पनी सञ्चालकद्वारा दोषिमाथि कारबाही नभएको गुनासो



बझाङ । निजी क्षेत्रको लगानीको निर्माणाधीन कालंगा हाईड्रा कम्पनीका सञ्चालकहरूले हाइड्रोमाथि भएको आक्रमण तथा तोडफोडमा संलग्न दोषिमाथि अझैं कारबाही नभएको गुनासो गरेका छन् ।


गत असार २१ गते बुंगल नगरपालिका वडा नम्बर २, बस्तीगाउँकी २० वर्षीया ललिता कुमारी धामीको सामुहिक बलात्कारपछि हत्या भएपछि आफन्त तथा स्थानीयले कालंगा हाइड्रोमाथि आक्रमण गरेका थिए । युवतिमाथि सामुहिक बलात्कार र हत्यामा सो कम्पनीमा काम गर्ने जेसिभी चालक माधव बोहरा संलग्न रहेको पाइएपछि आफन्तसहितका स्थानीयले आक्रमण गरेका थिए ।
कम्पनीका सञ्चालकहरूले भने बलात्कार तथा हत्या घटनामा संलग्न माधवलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि पनि कम्पनप्रिति पूर्वाग्रह राख्ने केही व्यक्तिले स्थानीलाई उचालेर हाईड्रोमाथि आक्रमण तथा तोडफोड गरेको दाबी गरे ।
कम्पनीका सन्चालक वीरेन्द्र मल्लले भने– कम्पनीमाथि आक्रमण गर्न उस्काउने व्यक्तिहरूको किटान गरी प्रहरी प्रशासनमा जाहेरी ग¥यौं, तर अहिलेसम्म दोषीमाथि कुनै कारबाही भएन ।
आक्रमणबाट कम्पनीको विजगडास्थित दुई वटा फिल्ड कार्यालयमा रहेका दुई वटा जेसीभी, पाँच वटा टिप्पर, १० वटा महेन्द्राबलेरो जीप तथा अन्य सामग्री सहित करिब १५ करोड रुपैयाँको क्षती भएको कम्पनीले जनाएको छ । कम्पनीले आक्रमणको भिडियो तथा क्षतीको विवरण असार मै सार्वजनिक गरिसकेको जनाएको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान भएर उनीहरुमाथि मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको भए पनि राजनीतिक दबावका कारण स्थगित गर्नुपरेको बताए ।
बुंगल नगरपालिको पाउटा, बिजगडा र कफलसेरीमा गरी तीन स्थानमा ६५ मेगावाट विद्युत उत्पादन क्षमताको आयोजना निर्माणाधीन छन् । कम्पनीका सञ्चालक मल्लका अनुसार हालसम्म तीन वटै आयोजनाको समग्रमा ७० प्रतिसत काम पुरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार