१२ श्रावण २०८१, शनिबार

आमाको मृत्युपछि बिचल्लीमा परेका नाबालकहरूका लागि सहयोग संकलन गरिँदै



धनगढी । सर्पले टोकेर आमाको मृत्यु भएपछि बिचल्लीमा परेका कैलालीको घोडाघोडीका पाँच नावालकहरूका लागि सहयाग संकलन शुरु गरिएको छ ।
गत बिहीबार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १, घोडाघोडीकी ३५ वर्षीया रानिपुरा न्यौपानेको सर्पले टोक्दा मृत्यु भएको थियो । अतिविपन्न न्यौपाने परिवार ऐलानीपर्ती जमिनमा बसोबास गर्दै आएको छ । कच्ची घरमा खाना पकाउने क्रममा खुर्सानी झिक्ने क्रममा रानिपुराको हातमा सर्पले टोकेकोमा समयमा उपचार नपाउ“दा उनको मृत्यु भएको छिमेकीले बताएका छन् ।
उनका श्रीमान शंकर रोजगारीका लागि केही दिनअघि भारत गएका थिए । रानिपुराका सात महिनाको छोरा र चार वर्ष, पाँच वर्ष, आठ वर्ष तथा १० वर्षका छोरी छन् ।
निकै कमजोर आर्थिक अवस्थामा रहेका न्यौपाने परिवारका लागि सहयोग संकलन गर्न विभिन्न संघसंस्था सक्रिय भएका छन् ।
यस क्रममा बाजुरा सेवा समाज, धनगढीले संकलन गरेको २३ हजार एक सय ९० रुपैयाँ तथा खाद्यान्न सामग्री न्यौपाने परिवारलाई प्रदान गरिएको समाजका अध्यक्ष सन्तोष थापाले बताए ।
त्यस्तै, घोडाघोडीस्थित उज्यालो आमा समूहका सदस्यहरूले पा“च हजार रुपैया मूल्य बराबरको खाद्यान्न प्रदान गरेका छन् । भने धनगढीका ऋतु रिजालले १० हजार रुपैयाँ तथा लत्ताकपडा, र खाद्यान्न सामग्री वितरण गरेका छन् ।
ती बालबालिकाको सहयोगका लागि शुक्रबार मात्रै ३४ हजार रुपैया संकलन गरिएको स्थानीय सुनचाँदी ब्यवसायी मनोज सुनारले बताए ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष तथा उज्यालो आमा समुहका अध्यक्ष चाँदनी आचार्यले बिचल्लीमा परेका नाबालाकहरूको पढाईलेखाईका लागि विभिन्न संघसंस्थासंग समन्वय र छलफल भइरहेको बताइन् ।
त्यस्तै, सुखडमा रहेको घोडाघोडी क्लव र घोडाघोडी सुनचादी ब्यवसायि संघले पनि संयुक्त रुपमा राहत संकलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार