११ श्रावण २०८१, शुक्रबार

विद्यालयमा छुवाछुत त्याग्न नसक्ने भएपछि…



बैतडी । विद्यालयमा जातीय विभेद गर्न नपाउने निर्णयपछि एक शिक्षकले अन्यत्र सरुवा मागेका छन । उनले आफुले जातीय छुवाछुत त्याग्न नसक्ने भन्दै बरु आफु नै अन्यत्र सरुवा भएर जाने निर्णय गरेका छन् ।
बैतडीको पञ्चेश्वर गाउ“पालिका वडा नम्बर १ पालडीस्थित नागार्जुन आधारभूत विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कुनै पनि किसिमको जातीय विभेद गर्न नपाइने निर्णय गरेपछि प्रधानाध्यापक ईश्वरबहादुर चन्दले आफनो सरुवाको प्रस्ताव गरेको बताइएको छ ।
सो विद्यालयमा करिब दुई सय जना विद्यार्थीमध्ये डेढ सय दलित समुदायका रहेको बताइएको छ । प्रधानाध्यापक चन्दले आफुले सबैले छोएको पानी नखाने भनेपछि विद्यालय व्यवस्थापन समितिले “विद्यालयमा सबै किसिमका भेदभाव उन्मुलन गर्ने निर्णय” पहिलेको निर्णयबारे प्रधानाध्यापक चन्दलाई स्मरण गराएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनीराम सार्कीले प्रधानाध्यापक चन्दले जातीय छुवाछुतलाई बढावा दिने खालेको व्यवहार गरेको बताए ।
तर, प्रधानाध्यापक चन्दले आफुले त्यस्तो निर्णयमा हस्ताक्षर नगरेको र आफु पुजाआजा गर्ने र अहिलेसम्म काम गरेको स्कुलमा पानी नखाएर पनि पढाएको बताए । उनले आफुलाई हटाउनकै लागि विद्यालय व्यवस्थापन समितिले पानीको कुरा ल्याएको आरोप लगाए । उनले सबैको हातको पानी नखाए पनि आफुले कसैमाथि पनि विभेद नगरेको दाबी गरे ।
पञ्चेश्वर गाउपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भर्खरै गाउपालिकालाई जातीय छुवाछूतमुक्त घोषणा गरेको र शिक्षकबाटै यस्तो व्यवहार हुनु दुखदायी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार