३ असार २०८१, आईतवार

बालश्रम मुक्त अभियान



डोटी । डोटी जिल्लाका बिभिन्न स्थानीय तहहरूमा बालश्रमुक्त अभियान सञ्चालन भएको छ । जिल्लाका राजमार्ग छेउछाउका होटल तथा पसल, बजार क्षेत्रका कतिपय घरमा बिद्यालय जाने उमेरका बालबालिका मजदुरका रुपमा प्रयोग गर्ने क्रम बढेपछि स्थानीय तहहरू बालश्रम मुक्त अभियानमा जुटेका हुन् ।
जिल्लाको बोगटान र पुर्वीचौकी गाउंपालिका तथा दिपायल सिलगढी नगरपालिकाले चालु आर्थिक बर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रममा बालश्रम मुक्त स्थानीय तह बनाउने कार्यक्रम घोषणा गरेका छन् ।
बोगटान गाउंपालिका अध्यक्ष कमलबहादुर गड्सिलाका अनुसार ग्रामिण क्षेत्रमाभन्दा बढी बजार क्षेत्रमा बालश्रम देखिएको छ । उनले भने– हामीले अभिभावकबिहिन बालबालिकाहरूको पढाई लेखाई र लालनपालनको सम्पूर्ण जिम्मेवारी गाउंपालिकाले बहन गर्नेगरी बजेट समेत विनियोजन गरेका छौं ।
त्यस्तै, दिपायल सिलगढी नगरपालिकाले बालबालिकालाई श्रमिकको रुपमा राख्ने व्यक्तिलाई कारवाहीको दायरमा ल्याउने तयारी गरेको छ । नगरपालिकाले नगरक्षेत्रवाट ६२ जना बाल श्रमिकको उद्दार गरिरहेको जनाएको छ । नगरपालिकाका प्रमुख मञ्जु मलासीले भनिन– पढाउने प्रलोभन दिएर बालश्रम राखेको भेटिएको छ । मुक्त गरिएका बालबालिकाहरू मध्ये २४ जनाको पढाईको खर्च नगरपालिकाले ब्यहोर्ने ब्यवस्था गरिएको छ । भने ३८ जना बालबालिकालाई एक वर्षसम्म पुग्ने शैक्षिक सामग्री र अन्य खर्च नगरपालिकाले ब्यहोर्ने गरी अभिभावकको जिम्मा लगाएका छौं ।
नगरका केही घरमा अझै पनि बालश्रमिक राखेको पाइएकोले बालश्रम मुक्त नगरपालिका घोषणा गर्न ढिलाई भएको नगरपालिका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए ।
दिपायल सिलगढी नगरपालिकाले बालश्रम नभएका घर तथा होटलमा हरियो झण्डा राख्ने काम पनि शुरु गरेकोे छ । नगरपालिकाले अटेरी गरेर बालश्रमिक राख्ने व्यक्तिको नाम सञ्चार माध्यामवाट प्रकाशन प्रसारण गर्ने र नगरपालिकावाट प्रदान गरिने सेवा सुबिधा समेत बन्द गर्ने निर्णय गरेको छ ।
उता, पूर्वीचौकी गाउपालिकाले बालश्रम मुक्त गाउपालिका घोषणा गर्न राजमार्ग छेउछाउका होटलहरूमा अनुगमन गरि बालश्रम भएका होटलहरूको पहिचान गरिसकेको जनाएको छ । पूर्वीचौकी गाउंपालिका अध्यक्ष दिर्घराज बोगटीले पहिलो चरणमा बालश्रमिक भएका होटल संचालकलाई बोलाएर छलफल गर्ने र बालश्रमिकहरूलाई मुक्त गर्न नमाने कानूनी कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार