११ श्रावण २०८१, शुक्रबार

सुतिरहेकाे बेला पहिराे जाँदा अामाछाेरीकाे मृत्यु, पाँच घाइते



धनगढी । बाजुराको गौमुल गाउँपालिकामा लगातारको वर्षाका कारण गएको पहिरोमा परी आमाछोरीको मृत्यु हुनुका साथै ५ जना घाइते छन् ।

बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले राति करिब १ बजेतिर घर माथिबाट पहिरो खसेको बताए ।

पहिरोमा परी थप ५ घाइते भएका छन्। घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारा लगायत छन्। जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटले जानकारी दिए।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकारी दिए। थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ। जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार