१२ श्रावण २०८१, शनिबार

निर्मला बलात्कार तथा हत्याकाण्ड : गृहमन्त्रीले भने– नयाँ सुत्रबाट अनुसन्धान भइरहेको छ



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डमा प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको बताएका छन् ।


संघीय संसदको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री थापाले पुराना सबै अनुसन्धानका विधि फेल भएपछि नया“ सूत्र लगाएर भेटिएका नयाँ तथ्यहरू केलाउँदै अनुसन्धान चलिरहेको बताए ।
‘हामीले विभिन्न कमिटी बनायौं, तर असफल भए । सीआईबीका टिम पनि बनाउँदा पनि असफल भए । अपराधीलाई कानुनको कठघरामा ल्याउन सकेनन्’, गृहमन्त्री थापाले भने– यो प्रकरणमा सरकारले आफनो काम गरिरहेको छ ।
गृहमन्त्री थापाले २०७५ साल साउन १० गते गाउँमै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा प्रहरीको हिरासतमा २५ बसेर छुटेका दिलीपसिंह विष्टको नाम फेरि आउन थालेको बताए । ‘निर्मला हत्याकाण्डमा सबैले दिलीपसिंह विष्ट नै हो कि भनिरहेका छन्’ गृहमन्त्री थापाले भने– उसको बयानले पनि त्यही देखाउ“छ । तर अनुसन्धान चलिरहेको छ ।


मन्त्री थापाले कोही पनि हाइप्रोफाइललाई जोगाउन निर्मला प्रकरण नमोडिएको दाबी गरे । ‘धेरैलाई हाई प्रोफाइललाई जोगाउन हो कि भन्ने परेको छ’, थापाले भने, ‘तर त्यो होइन । अहिले पनि अनुसन्धान चलिरहेकाले निचोडमा पुगिहाल्नु हुँदैन ।’
गृहमन्त्री थापाले यो प्रकरणमा सयौं व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको बताए । ‘हामीले सयौं व्यक्तिलाई अनुसन्धानका क्रममा बोलाएका थियौ“ । सोधपुछ गरिएको छ । डिएनए म्याच नभएर रिहा भएका हुन’, उनले भने, ‘अन्य सबै कुरा मिल्दा पनि डिएनए मिलेन । अहिले यो घटनालाई लिएर सार्वजनिक बहस भइरहेका छन् ।
सार्वजनिक बहसले समस्या हल हुँदैन । सुझाव त पुग्छ तर अनुसन्धान आफनै गतिमा अघि बढेको छ ।’ त्यसअघि समितिको बैठकमा उपस्थित सांसदहरूले गृहमन्त्रीलाई निर्मला प्रकरणमा हाइप्रोफाइल अभियुक्तलाई लुकाउन भनेर सोधेका थिए । उनीहरूले यदि दिलीपसिंह विष्ट दोषी भएको भए छाड्नुको कारणबारे प्रश्न गरेका थिए ।
सांसदहरूले भनेका थिए, ‘बयानमा बोल्दा पनि किन पक्राउ गरिएन ?’ बैठकमा गृहमन्त्री थापाले समितिका सभापति रामनारायण बिडारीलाई निर्मला प्रकरणबारे भएको अनुसन्धानको प्रति बुझाएका थिए । समितिलाई अनुसन्धानको प्रति बुझाउँदै गृहमन्त्री थापाले बाहिर प्रकाशन नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार