१२ श्रावण २०८१, शनिबार

रोम विधान अनुमोदन गर्न छलफल



धनगढी । अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा रोम विधान अनुमोदनका लागि बुधबार धनगढीमा छलफल भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानवअधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक समाजबीच रोम विधान अनुमोदनको औचित्य विषयमा छलफल गरिएको हो ।
छलफलमा सहभागीले मुलुकमा दण्डहीनता अन्त्य गर्न रोमविधान अनुमोदन गर्न आवश्यक रहेको बताए । उनीहरुले रोम विधान अनुमोदनबाट अन्तर्राष्ट्रिय समुदायमा नेपाल पनि न्यायिक राष्ट्र हो भन्ने प्रमाणित हुने बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका निर्देशक झंकर रावलले दण्डहीनता भएको बेला रोम विधानले काम गर्ने बताए ।
अधिवक्ता जोहारीलाल चौधरीले अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट मान्यता पाउनका लागि पनि रोम विधान अनुमोदन गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा कैलाली बारका अध्यक्ष शिव केसीले अपराध गर्नेलाई मुलुकभित्रको कानुनले सजाय दिन नसकेको अवस्थमा रोम विधान मार्फत् अन्तर्राष्ट्रिय कानुनले सजाय गर्न सक्ने व्यवस्था रहेको बताए । उनले मानव जीवन व्यवहारमा आवश्यक कानुनहरु रोम विधानमा रहेको बताए ।
गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव धर्मराज पाठकले न्याय दिवसका अवसरमा रोमविधान अनुमोदन गर्न दवाव सिर्जना गर्नुपर्ने बताए ।
इन्सेकका कार्यक्रम संयोजक दिलबहादुर चौधरीले रोममा भएको अन्तराष्ट्रिय भेलाले विश्वमा दण्डहीनता अन्त्य गर्न पारित गरेको रोम विधान नेपालले पनि अनुमोदन गर्नुपर्ने बताए ।
नेपाल राष्ट्रिय दलित सामाज कल्याण संघका अध्यक्ष चक्र विकले नागरिक समाजमा रोमविधान अनुमोदन गर्नका लागि यसअघि पनि छलफल भएको भन्दै अनुमोदन गर्न सरकारलाई दवाव सिर्जना गर्ने खालका कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार