१२ श्रावण २०८१, शनिबार

श्रीलंका कटानको जोखिममा



टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकास्थित तोलीगाउ“मा कर्णाली नदीले कटान शुरु गरेको छ । पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि नदी कटान तीव्र भएको स्थानीयले बताएका छन् ।
स्थानीय दिलबहादुर बुढाले बाढी र कटानका कारण ऊखु, तिल, मास लगायतका बालीमा क्षती भएको बताए । वर्षेनी कटान र डुवानको समस्या झेल्दै आएका श्रीलंकाका बासिन्दा वर्षातमा सधैंजसो त्रसित रहने गरेका छन् । विगतका वर्षमा वर्षायाम सकिएर नदीमा पानीको सतह घट्ने बेला कटान हुने गरेको भए पनि यसवर्ष वर्षायामको शुरुवातबाटै कटान भएपछि स्थानीयवासी त्रसित भएका छन् ।
स्थानीय लोकसिंह बुढाले वर्षाको शुरुवातमै नदीले कटान शुरु गरेपछि त्रसित बनाएको बताए । ‘यसवर्ष त हामीले खेती पनि गर्न पाएका छैनौं, वर्षाको शुरुवातमै कर्णाली नदीले कटान शुरु गरेको छ’, उनले भने, ‘चार बिघाभन्दा बढी कटान गरिसकेको छ, यही गतिमा काट्दै गए श्रीलंका क्षेत्र सबै नदीमा परीणत हुनेछ ।’
नदी कटानबाट उर्वर भूमि बालुवामा परीणत हु“दै गएको स्थानीयवासी धर्म चौधरीले बताए । कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ गत वर्षदेखि तटबन्ध बनाएपछि नदीको कटान झन तीव्र भएको हो । तटबन्ध सकिएको ठाउ“बाटै नदीले यसवर्षसमेत कटान शुरु गरेको हो ।
कैलालीको क्षेत्रमा भने तटबन्ध निर्माण हुनसकेको छैन । कर्णाली नदीले श्रीलङ्कामा कटान शुरु गरेको टीकापुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले बताए । केही दिनदेखि नदीले कटान शुरु गरेको छ । ‘बर्दियातिरबाट भएको तटबन्ध भन्दा तलबाट कटान शुरु छ’ वडाध्यक्ष ठकुल्लाले भने– कटानले श्रीलङ्काको उर्वरभूमि सखाप हुने अवस्थामा पुग्यो ।
नदी कटानका कारण किसानले लगाएको बालीसमेत नष्ट भइरहेको अध्यक्ष ठकुल्लाले बताए । श्रीलंकामा झण्डै ८० परिवार बसोवास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार