११ श्रावण २०८१, शुक्रबार

शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु घटना: शिक्षक सहित पांच जनाविरुद्ध मुद्दा दर्ता



महेन्द्रनगर । शिक्षकको कुटाईबाट मृत्यु भएका विद्यार्थीका अभिभावकले विद्यार्थी कुट्ने शिक्षकसहित पाँच जना विरुद्ध मुद्दा दर्ता गराएका छन् ।


कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर १७ मझँगाउस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको शिक्षकको कटाईबाट मृत्यु भएपछि उनका अभिभावकले कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जनाइएको छ ।
विद्यार्थीबीच भएको झगडाका विषयमा कक्षा–९ मा अध्ययनरत छात्र माधवलाई असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको अभिभावकको आरोप छ ।
घाइते विद्यार्थीको असार २४ गते राति उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित पाँच जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रधानाध्यापक यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्री विरुद्ध मुद्दा दर्ता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार