१० श्रावण २०८१, बिहीबार

सार्वजनिक काममा महिला सहभागिता बढ्दो



डोटी । डोटी जिल्लाका ग्रामिण क्षेत्रवाट पुरुषहरु कामका लागि भारत गएपछि विकास निर्माणदेखि सामाजिक काम समेत महिलाको जिम्मामा परेको छ । भारतवाट घर फर्केका पुरुषहरु घरमा हुदा ब्यक्तिगत भेटघाट र रमाईलोमा नै बढी समय ब्यथित गर्ने गरेका कारण पनि महिलाहरुको कामको जिम्मेवारी कम भएको छैन ।

सरकारी क्षेत्रवाट शुरुवात गरिएका बिकास निर्माणका कामहरु पनि अषाढ मसान्त भित्र नै सिध्याउनु पर्ने त्यसैमा खेतीपातीको चटारो डोटीको शिखर नगरपालिका मुडेगाउँकी भगवती बोगटीले भनिन –“पुरुषहरु कामका लागी भारतमै बढी छन् । गाउँघरमको सामाजिक काम देखि बिकास निर्माणसम्म हाम्रै काधमा आईलागेको छ ।”
ग्रामिण क्षेत्रमा एक समय थियो बैठक, भेला होस वा कुनै सार्बजनिक समारोह वा बिकास निर्माणका काममा पुरुषको सहभागीता नै बढी हुन्थ्यो पुरुष नभए पनि महिला जिम्मेवारी लिई हाल्ने आँट गरिहाल्ने अवस्था थिएन , तर पछिल्लो समयमा महिलाको सहभागीतालाई पनि समाजमा सहज रुपमा लिने गरिएको छ । कानूनी ब्यबस्थामा गरिएको परिवर्तनले समेत महिला सहभागीतालाई सहज बनाएको धेरैको भनाई छ । डोटीको सायल गाउँपालिकाकी उपाध्यक्ष बिष्णा सिंह कतिपय कानुनले नै महिला सहभागीता अनिवार्य भनेर तोकेका कारण पनि महिला सहभागीता बढ्दै गएको बताउछिन । उपाध्यक्ष सिंहले भनिन–“बिकास निर्माणका लागी गठन हुने उपभोक्ता समितिदेखि लिएर हरेक स–साना समुहहरुमा समेत महिला सहभागीता अनिवार्य जस्तै गरिएको छ । पहिला–पहिला महिलाहरु सामाजिक काममा जानु हुदैन भन्नेहरुले समते सहज रुपमा लिन थालेका छन् ।”
ग्रामिण क्षेत्रमा स्थानीय स्तरमा आयमुलक कृयाकलापमा संलग्न हुने भन्दा कामका लागि भारत जाने पुरुषहरुको संख्या अत्याधिक छ । निर्माणका काममा समेत दक्ष कामदारको आकर्षक ज्याला भएपनि दक्ष कामदारहरु ग्रामिण क्षेत्रमा तराईका जिल्लावाट आउने क्रम बढ्दै गएको छ ।
सुदूरपश्चिम प्रदेशका ग्रामिण क्षेत्रहरुमा थुप्रै प्रकारका परम्परागत तर महिलाहरुका लागि घातक मान्यताहरु कायमै छन् । महिलाहरुको सार्वजनिक काम काजदेखि बिकास निर्माणमा देखिएको सहभागीताले कुरिती अन्त्यका लागी समेत सहज भएको छ । पछिल्लो पटक सरकारी स्तरवाट घोषणा गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत महिलाहरु नै बढी संलग्न रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार