१० श्रावण २०८१, बिहीबार

हवाहुरी पीडित भन्छन्– वर्षामा कसरी बस्ने होला ?



धनगढी । ‘भारतको कोठीमा भाँडा माझेर भर्खरै टाउको छोप्न टिनको छानो हालेर घर बनाएको थिए । बस्न नपाउँदै हावाहुरीले भत्कियोे’ धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का मञ्जु परियारले जेठ २३ गते आएको विनासकारी हावाहुरीले टीनको छानो र ढलेको घर देखाउँदै भनिन्– ‘कमाएको पैसा यहि घर बनाउनमा खर्च भइसकेको थियो । अब यसलाई कसरी मर्मत गर्ने होला ?’
हावाहुरीबाट घरबारबिहीन भएपछि मन्जु अहिले छिमेकी दाईको घरमा बस्दै आएकी छिन् । उनले भनिन्– ‘वडा कार्यालयबाट एउटा त्रिपाल पाए । त्यसलाई कहाँ लगाएर बस्ने ?’
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की धनादेवी नेपालीलाई पनि अहिले कसरी घर बनाउने भन्ने चिन्ता छ । ‘टाउको छोप्ने यो सानो घर हावाहुरीले विगार्यो’ उनले घरको अवस्था देखाउँदै भनिन्– ‘विनासकारी हावाहुरीले छानो उडायो । त्यसपछि आएको हावाहुरी र वर्षाले घरमा भएको खाद्यान्न नोक्सानी गर्यो ।’
धनाका श्रीमान भारतमा काम गर्दै आएका छन् । उनको दुई छोरी र एक छोरा छन् । ‘छोरा छोरी सानै छन् । म पनि अपाङ्ग छु । श्रीमानको तलबले घर मर्मत गर्न सक्ने अवस्था छैन । योे घर कसरी बनाउने होला ?’
उनले २३ गतेको विनासकारी हावाहुरीलाई स्मरण गर्दै भनिन्– ‘खटियामुनि छोराछोरीलाई राखेर बाचे ।’ उनले हावाहुरीपछि त्रिपाल र खाद्यान्न बाहेक अरु केही नपाएको गुनासो गरिन् । ‘छोराछोरीको शरीरमा लगाउने कपडा छैन । घरमा खानालाई खाद्यान्न छैन’ उनले भनिन्– ‘वडा कार्यालयले एक त्रिपाल, पाँच किलो दाल, पाँच किलो चामल र एक किलो तेल दिएको थियो । तर, त्यो त्रिपालले घरको छानो पुरै छोप्न सकेन । दिनभरी घरमा बस्छु । राती छिमेकीको घरमा सुत्न जाने गरेकी छु ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर १० की एकल महिला अनारकली रानाले भनिन्– ‘घरमा कमाउने कोही छैनन । दुवै छोरा सानै छन् । म एकल महिलाले कसरी घर बनाउने ?’ विनासकारी हावाहुरीले उनको घरमा पूर्ण क्षति पुर्याएको छ । उनी छोरासहित छिमेकीको घरमा बस्दै आएकी छिन् ।
जिल्ला प्रशासन कार्यालय, कैलाली र नेपाल रेडक्रस सोसाईटीबाट सो वडामा ७० थान त्रिपालहरु वडा कार्यालयलाई प्रदान गरिएको थियो । तर, ती त्रिपाल पनि पीडितसम्म पुग्न नसकेको पीडितहरुको गुनासो छ । वडा नम्बर १० की कल्पना पौडेलले भनिन्– ‘यस वडामा एक सय ४५ घर पूर्ण रुपमा क्षति पुगेका छन् । ७० वटा त्रिपाल कसलाई दिने र कसलाई नदिने भनेर अहिलेसम्म वडा कार्यालयमै थन्किएको छ ।’

कल्पनाले थपिन्– ‘वर्षा मौसम शुरु भइसकेको छ । यस वडाको अधिकांस घरको छत हावाहुरीले उडाएको छ । पानी परे खाद्यान्न तथा लत्ता कपडाको सुरक्षा गर्न समस्या हुने छ ।’ उनले आफनै घर बनाउन नसक्ने पीडितहरुलाई सरकारले पूर्ण रुपमा सहयोग गर्नुपर्ने आग्रह गरिन् ।
२३ गतेको विनासकारी हावाहुरीका कारण धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा, घोडाघोडी, लम्की, भजनी र टीकापुर नगरपालिका, कैलारी, जोशीपुर, वर्दगोरिया र जानकी गाउँपालिका प्रभावित भएका थिए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र, कैलालीका अनुसार जिल्लाभरी प्रशासन कार्यालय, सम्बन्धीत स्थानीय तहबाट तीन हजार सात सय २६ त्रिपाल र १७ लाख ७६ हजार पाँच सय रुपैया वितरण गरिएको जनाइएको छ । त्यस्तै रोटरी क्लब अफ नेपालबाट ६८ थान जस्तापाता र मर्सिकोर नेपालबाट चार सेल्टर किट धनगढी उपमहानगरपालिकामा वितरण गरिएको जनाइएको छ ।

राहत घोषणा, तर वितरण भएन

धनगढी उपमहानगरपालिकाको ३० गते बैठकले हावाहुरीबाट क्षति पुगेका घरधनीलाई क्षतिको आधारमा राहत दिने निर्णय गरेको जनाएको छ । उपमहानगरपालिकाले हावाहुरीबाट घर पूर्ण रुपमा क्षति भएको परिवारलाई छ हजार, मध्यम क्षति भएकोलाई तीन हजार, पशुपंक्षीमाभएको क्षतिलाई तीन हजार र ब्यावसायीक खेतीमा तीन हजार रुपैया सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै, पूर्णरुपमा घरमा क्षति पुगेको घरकी ९० दिनका सुत्केरी महिलालाई एक हजार पाँच सय रुपैया सहयोग गर्ने निर्णय गरेको थियो ।
उपमहानगरपालिकाको निर्णय गरेको छ दिन पुग्दा समेत हावाहुरी पीडितसमक्ष भने सो राहत रकम पुग्न सकेको छैन ।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अहिले वडा कार्यालयमा विनासकारी हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए । उनले भने –‘वडा कार्यालयहरुबाट क्षतिको पूर्ण विवरण आई नसकेकोले राहत रकम बाँडने काम अघि बढेको छैन् ।’ उनले क्षतिको विवरणहरु थपिदै गएको बताए ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सरकार गठन भए यता विपदमा परी ज्यान गुमाएका परिवारलाई एक लाख ५० हजार राहत रकम उपलब्ध गराउने, कैलाली कञ्चनपुरमा आएको हावाहुरीका कारण घर पूर्ण रुपमा क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आशिंक क्षति भएकालाई १० हजार रुपैयाँ छुट्टै उपलब्ध गराउने निर्णय गरेको थियो । प्रदेश सरकार गठन भएयता हावाहुरी, बाढी, चट्यांग, पहिरो लगायतका विपदमा परी ३८ जनाको मृत्यु भएको जनाइएको छ ।
प्रदेश सरकारले घोषणा गरेको राहत रकम पनि पीडित समक्ष पुग्न सकेको छैन् । प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पाँच करोड रकम निकासाका लागि अनुरोध पठाइएको बताए । ‘अर्थ मन्त्रालयबाट रकम निकासा भएर आएपछि जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने छ’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार २३ गतेको विनासकारी हावाहुरीबाट एक जनाको मृत्यु, एक जना मोटरसाईकल दुर्घटनाबाट मृत्यु र एक सय जना घाइते भएका थिए । हावाहुरीबाट घाइते भएका पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीमा हावाहुरीले दुई हजार दुई सय १६ घर पुर्णरुपमा क्षति भएको थियो । जिल्लामा सात हजार आठ सय ४४ घर प्रभावित भएको प्रशासन कार्यालयको तथ्यांकमा रहेको छ ।

चार स्थानीय तहले पीडितलाई दिए राहत रकम

कैलाली जिल्लाका चार वटा स्थानीय तहले आफनै श्रोतबाट हावाहुरी पीडितलाई राहत रकम उपलब्ध गराएका छन् ।
जिल्लाको टीकापुर, भजनी, घोडाघोडी र गोदावरी नगरपालिकाले आफनै श्रोतबाट हावाहुरी पीडितलाई राहत रकम उपलब्ध गराएका हुन् ।
टीकापुर नगरपालिकाले हावाहुरीबाट ज्यान गुमाएका लहानु चौधरीकी श्रीमतीलाई ५० हजार नगद हष्तान्तरण गरेको थियो । भजनी नगरपालिकाले पूर्ण रुपमा क्षति भएकालाई पाँच हजार र आशिंक क्षति भएका घरपरिवारलाई चार हजारका दरले ५४ हजार राहत रकम ११ जना पीडितलाई उपलब्ध गराएको जनाइएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाले ९६ पीडित परिवारलाई तीन लाख ७४ हजार राहत रकम वितरण गरेको छ भने गोदावरी नगरपालिकाले ११ लाख ७३ हजार पाँच सय राहत रकम आफनै श्रोतबाट उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

मृतकका आफन्तलाई राहत

विनासकारी हावाहुरीबाट मृत्यु भएका लहानु चौधरीका आफन्तलाई जिल्ला प्रशासन कार्यालय र टीकापुर नगरपालिकाले राहत उपलब्ध गराएको छ ।
टीकापुर नगरपालिकाले २५ हजार र जिल्ला प्रशासन कार्यालय कैलालीले एक लाख राहत रकम लहानुकी श्रीमतीलाई राहत रकम हष्तान्तरण गरेको जिल्ला आपत्तकालिन केन्द्रले जनाएको छ ।
त्यस्तै हावाहुरीकै कारण मोटरसाईकल दुर्घटनाबाट ज्यान गुमाएका विरबहादुर चौधरीलाई विमा कम्पनिले ५० हजार कृया खर्च उपलब्ध गराएको जनाइएको छ । आपत्तकालिन केन्द्रका अनुसार बाँकी चार लाख ५० हजार रुपैयाँ लिने प्रक्रियामा रहेको जनाइएको छ ।

हावाहुरीपीडितलाई गैर आवासिय नेपाली लगायतको सहयोग

जेठ २३ गते आएको हावाहुरी पीडितका लागि गैर आवासिय नेपाली संघ लगायतले छ लाख ९ हजार रुपैया राहत रकम सहयोग गरेका छन् ।
धनगढी नगर स्तरीय बिपद ब्यबस्थापन समितिको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय धनगढीमा गैर आवासिय नेपाली संघले पाँच लाख रुपैयाँ जम्मा गरेको छ । त्यसैगरी सिएक्सईन्डष्ट्रीयल सर्भिसेज प्रालिले ५० हजार, सि.सि इक्यूपमेन्ट प्रालिले ५० हजार, अनुप पुडासैनीको नामबाट नौ हजार उपमहानगरपालिकाको खातामा जम्मा गरिएको छ ।
गैर आवासिय नेपाली संघ (एनआरएन)का कोषाध्यक्ष हिक्मत थापाले जन्मभूमी बिपदमा परेका बेला सहयोग गर्न सबै गैर आवासिय नेपालीसंग अनुरोध गरिएको बताए । कोषाध्यक्ष थापा कैलालीका बासिन्दा हुन् । उनी हाल नाईजेरियाको व्यापारिक समूह डोगांटे गु्रपमा कार्यरत छन् । आफू नाईजेरिया भएपनि कैलाली र कञ्चनपुरमा हावाहुरीले ठूलो क्षति पुर्याएको सुनेर अत्यन्त दुःखी भएकोले विपत्तिको यो घडीमा सहयोगका लागि संघ मार्फत पाँच लाख रुपैया पठाएको थापाले बताए ।
‘पहिलो चरणमा संघका तर्फबाट पाँच लाख रुपैया पठाएका छौ’ संघका कोषाध्यक्ष थापाले भने, ‘थप रकम सहयोगका लागि पनि मैले प्रयत्न गर्नेछु ।’ धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले विपत्तिको घडीमा गैर आवासीय नेपाली संघका तर्फबाट सहयोग भएको आभार व्यक्त गरे ।
‘यो हाम्रा लागि ठूलो सहयोग हो,’ मेयर वडले भने, ‘रकम भन्दा पनि उदारता र सहयोग ठूलो कुरा हो । संघको यो सहयोग र उदारताको हामी उच्च प्रशंंसा गर्दछौ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार