११ श्रावण २०८१, शुक्रबार

नेपाल भारत सीमा सर्भेटोलीले ४९ नयाँ सीमा स्तम्भ बनायो



धनगढी । नेपाल भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली कञ्चनपुरमा पर्ने दुई देशीय सीमानामा ४९ वटा सीमा स्तम्भ बनाएको छ ।

नेपालको कैलाली र कञ्चनपुर तथा भारतको खिरी जिल्लका सुरक्षा अधिकारीहरुको बिहिबार धनगढीमा बसेको बैठकमा आचु बर्षमा कैलाली र कञ्चनपुरमा पर्ने दुई देशीय सीमानामा ४९ वटा नयाँ सीमा स्तम्भ निमार्ण गरेको प्रतिवेदन प्रस्तुत भएको हो । ति मध्ये ८ वटा मुख्य स्तम्भ र ४१ वटा सहायक स्तम्भ निर्माण गरिएका छन् । त्यस्तैगरी, एक सय वटा स्तम्भ मर्मत तथा सुधार गरिएकोे छ ।
बैठकले बाँकी रहेका सीमा स्तम्भहरु एक वर्षभित्र निर्माण गरी सक्ने निर्णय समेत गरेको छ । नेपाल भारत सीमा विवादलाई समाधान गर्न सन् २०१६ देखि सीमा क्षेत्रमा खटाएको दुवै देशको सर्भे टोलीले कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा गरेको हालसम्मको प्रगती र गर्न नसकिएको कामलाई आगामी दिनमा सम्पन्न गर्ने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
सीमा सर्भे टोलीले तत्काललाई काम रोकेको र आउदो बर्षको जेष्ठमै पुनः काम सुरु गर्ने नेपाल भारत सीमा सर्भे टोली नम्बर ४ का प्रमुख जनक भट्टले जनाए । कैलालीको मारीयाघाटमा गतबर्ष विवादले सम्पन्न हुन नसकेका चार सीमा स्तम्भको विवाद समाधान गरी यसबर्ष नयाँ निर्माण गरेको उनले बताए । यसबर्ष कैलालीको फुलवारीमा रहेको ७४२, खक्रौलाको ७०४, ७०५ र कञ्चनपुरको पुर्नवासमा पर्ने ७५२ नम्बर सीमा स्तम्भमा स्थानीयले बिरोध जनाएका कारण निमार्ण गर्न नसकिएको उनले बताए ।
कैलालीमा रहेका २८२ सीमा स्तम्भ मध्ये ७३ वटा नयाँ निर्माण गरिएको छ भने ६८ वटा नदी क्षेत्रमा हराएका र १४१ वटा सीमा स्तम्भलाई सामान्य मर्मत गरिएको छ । कञ्चनपुरका ३८० सीमा स्तम्भ मध्ये २१७ वटा नयाँ निमार्ण गर्नुपर्ने, ३६ वटा नदी क्षेत्रमा परेर हराएका र १२७ वटा पिल्लर सामान्य मर्मत गर्नुपर्ने भट्टले जनाए ।
बैठकमा नेपालको तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील बैध, सुदूरपश्चिम प्रदेश प्रहरी उपरीक्षक दिनेशप्रसाद आचार्य लगायत कैलाली, कञ्चनपुरका सुरक्षा अधिकारीहरुको सहभागिता थियो भने भारतको तर्फबाट लखीमपुर खिरी जिल्लाका प्रमुख शैलेन्द्रकुमार सिहंको नेतृवमा विभिन्न सुरक्षा अधिकारीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार