१२ श्रावण २०८१, शनिबार

धनगढीको दीर्घकालीन योजनाको मस्यौदा तयार



धनगढी । धनगढी उपमहानगरपालिकाले २५ वर्षीय दीर्घकालीन शहरी योजना तयार गरिरहेको छ ।


उपमहानगरपालिकाले नगरलाई व्यवस्थित शहरका रुपमा विकास गर्न २५ वर्षीय योजना बनाउन मस्यौदा तयार गरेको हो । उपमहानगरपालिकाले बुधबार दीर्घकालीन शहरी योजना तर्जुमा गोष्ठी आयोजना गरी क्षेत्रीय शहरी विकास विकास आयोजना कार्यान्वयन इकाइको सहयोगमा तयार गरिएको सो मस्यौदामाथि छलफल गरेको छ ।
क्षेत्रीय शहरी विकास विकास आयोजना कार्यान्वयन इकाइका आयोजना व्यवस्थापक सुरेशकुमार वाग्लेले सो मस्यौदामा सडक तथा सतह ढल, एकीकृत फोहोरमैला व्यवस्थापन, दिसाजन्य फोहोर व्यवस्थापन र शहरी योजनाका कार्यक्रम समेटिएको जनाए । उनले सडक तथा सतह ढलका लागि टेण्डर आह्वान भइसकेको बताउ“दै भने, ‘सात वटा सडकको झण्डै १० किलो मिटरको टेण्डर आव्हान भइसकेको छ । अब २० दिनभित्र टेण्डर खोलिन्छ ।’
उनले एकीकृत फोहोरमैला र दिसाजन्य फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्त हुन नसकेको बताए । ‘फोहोरमैला व्यवस्थापनका लागि हामीले खोजेको स्थानमा केही विवाद देखिएको छ,’ उनले भने, ‘हामीले विकल्पका रुपमा अन्य स्थानमा पनि जग्गा हेरिरहेका छौं ।’ उनले धनगढी नगरका समस्या, चुनौती र सम्भावनाहरुको बिश्लोषण गरेर दिर्घकालिन शहरी विकास योजना निर्माण भइरहेको बताए ।
आयोजनाले शहरी योजनाअन्तरगत धनगढीलाई व्यवस्थित शहरका रुपमा विकास गर्न २५ वर्षीय दीर्घकालिन सोचसहितको मस्यौदा तयार पारिसकेको बताए । आयोजनाका परामर्शदाता इन्द्रकुमार पौडेलले मस्यौदा प्रस्तुत गर्दै भने, ‘शहरी योजनामा व्यवस्थित वस्ती, उद्योग, कृषि क्षेत्र, अस्पताल क्षेत्र, पार्क लगायतको योजना बनाइएको छ ।’
उनले धनगढी उपमहानगरपालिकाको केही क्षेत्रमा घना वस्ती रहेको भएपनि अधिकांस क्षेत्र खुल्ला रहेकाले व्यवस्थित शहरका रुपमा विकास गर्न सकिने बताए । धनगढीको मुख्य सडकमा जनघनत्व बढ्दै गएको भएपनि शाखा सडक छेउछाउमा वस्ती रहेको तर भित्र पुरै खाली भएको बताए ।
धनगढी उपमहानगरपालिका राजमार्गसंग जोडिएको, परम्परागत व्यापारिक स्थान, प्रशस्त वनजंगल, खेती योग्य भुभाग भएको, जिल्लास्तरीय प्रशासनिक केन्द्र, विभिन्न सांस्कृतिकको समिश्रण भएको, शहरी विस्तारका लागि जमिन, विकास निर्माणका कार्यमा जनसहभागिता जुट्नु योजनालाई अघि बढाउन सवल पक्ष रहेको मस्यौदामा उल्लेख छ । दीर्घकालीन योजनाको मस्यौदानुसार नगर भीत्र नगरबसपार्क, खुल्ला क्षेत्र, पार्क, आकाशेपुल क्षेत्र, एकिकृत फोहर ब्यबस्थापन केन्द्र, तरकारी बजार, मनोरञ्जन स्थल, कवर्डहल, पार्किंग क्षेत्र, बिमानस्थल, पर्यटक सूचना केन्द्र लगायतका क्षेत्रहरु समेत छुट्याईने छ ।
धनगढी उपमहानगरपालिका नदी कटान र डुवानको जोखिम, दक्षिण भारतमा राष्ट्रिय निकुञ्ज जोडिएको, शहरी क्षेत्र अव्यवस्थित हुनु दुर्वल पक्ष रहेको उल्लेख छ ।
धनगढी उपमहानगरपालिकामा तिव्र बसाई सराई, बढ्दो शहरीकरण व्यवस्थापन, सडक भवनसंहिता पालना नहुनु, विभिन्न क्षेत्रमा लगानी आकर्षित गर्न नसकिनु चुनौति रहेको जनाइएको छ ।
सो अवसरमा बोल्दै नगर प्रमुख नृपबहादुर वडले धनगढीलाई व्यवस्थित शहर बनाउन सबैले सहयोग गर्न आवश्यक रहेको बताए । उनले बिगत र अहिलेको अबस्थालाई बिश्लेषण गरेर दीर्घकालिन शहरी विकास योजना निर्माण गरिन लागेको बताए । ‘हामी पच्चीस बर्षको परिकल्पना गरेर दिर्घकालिन योजना निर्माण गर्दैछौं’ नगरप्रमुख वडले भने, ‘त्यसैले हामीले कल्पना गरेको धनगढी कस्तो हो सबैको सुझाव आवश्यक छ । अहिले बनाउने दिर्घकालिन योजना संग धनगढी शहर र नगरबासीको भविष्य जोडिने छ ।’ उनले मस्यौदामा छुटेका कुराहरु सुझावका रुपमा दिन सबै नगरबासीसंग आग्रह गरे ।
धनगढीलाई ब्यबस्थीत, सुन्दर र समुन्नत शहर बनाउनका लागि सरोकारवलाहरुलाई बिभिन्न समुहमा बिभाजन गरेर सुझाव संकलन गर्ने काम भैरहेको धनगढी उप–महानगरपालिकाका पूर्व नगरप्रमुख खेमराज पाण्डेले बताए । उनले अहिले बनाएको योजनाले दीर्घकालिन असर पार्ने भएकाले पूर्वाग्रह त्यागेर सबैले सुझाव दिनुपर्ने बताए ।
छलफलमा जिल्लाका राजनीतिक दलका प्रतिनिधी, पूर्व नगर प्रमुखहरु, नागरिक समाजका प्रतिनिधी, जनप्रतिनिधी, पत्रकार लगायतको उपस्थीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार