१२ श्रावण २०८१, शनिबार

बजेट खर्च गर्ने चटारो



सुखड । चालू आर्थिक वर्ष २०७५/०७६ सकिन दुई महिना बाँकी रहँदा कैलालीको घोडाघोडी नगरपालिकालाई बजेट खर्च गर्ने चटारो परेको छ ।

नगरपालिकाले सातौ नगरसभाबाट चालू आर्थिक वर्षका योजनाहरूको बजेट खर्च गर्न नगरपालिका र वडाका विभिन्न योजनाको बजेट रकमान्तर गरेको छ । सातौं नगर सभाबाट चालू आर्थिक वर्षका केही विकास योजनाको बजेट रकमान्तर गरिएको छ भने केही योजना नै परिवर्तन गरिएको छ ।
घोडाघोडी नगरपालिकाले खानेपानी, सरसफाई तथा फोहोर व्यवस्थापनका लागि विनियोजित गरेको एक करोड रुपैया बजेट सातौ नगरसभाबाट बजेट शिर्षक रकमान्तर गरी सवारी साधन खरिदमा १० लाख र आकस्मिक भईपरि आउनेमा २० लाख रुपैयाँ रकमान्तर गरिएको छ ।
त्यस्तै सार्वजनिक स्थल कोष निर्माणको लागि विनियोजन गरिएको ३० लाख रुपैयाँ आकस्मिक भैपरी आउने शिर्षकमा १८ लाख र नगर प्रोफाईल अर्थात कार्यालय सञ्चालन तथा प्रशासनिक चालू खर्चमा १२ लाख रकमान्तर गरिएको छ ।
त्यस्तै, औषधी उपचार खर्चको १५ लाख रुपैयाँ मध्ये स्वास्थ्य राहत कोषमा १० लाख र दैनिक भ्रमण खर्चमा पाँच लाख रुपैयाँ रकमान्तर गरिएको छ । भने, कर्मचारी प्रोत्साहन तथा पुरस्कार खर्चको पाँच लाख रुपैया मध्ये अवलोकन भ्रमणमा दुई लाख, कार्यक्रमको पुरै पाँच लाख रुपैयाँ अवलोकन खर्चमा, कर्मचारी कल्याण कोषको पाँच लाख रुपैयाँ मध्ये दैनिक भ्रमण खर्चमा तीन लाख र पत्रपत्रिका तथा सुचना प्रकाशन/प्रसारणमा दुई लाख रकमान्तर गरिएको छ ।
त्यस्तै, सवारी साधन तथा मेसिनरी सामान भाडा खर्चको १० लाख रुपैया मध्ये विविध शिर्षकमा पाँच लाख, बिमा तथा नविकरण खर्च तर्फको २५ लाख रुपैयाँ मध्ये विविध शिर्षकमा १० लाख, सिंचाई खर्च तर्फको २० लाख रुपैया मध्ये आकस्मिक भैपरि आउने शिर्षकमा १५ लाख र उद्योग खर्च तर्फको १० लाख रुपैया भैपरि आउने शिर्षकमा रकमान्तर गरिएको छ ।
वडामा पनि बजेट रकमान्तर
घोडाघोडी नगरपालिका विभिन्न वडामा पनि रकमान्तर गर्ने क्रम उस्तै देखिएको छ । नगरपालिकाका १२ वटा वडा मध्ये ११ वडामा बजेट रकमान्तर गरिएको छ । वडा नम्बर ११ मा मात्र योजनाका बजेट रकमान्तर गरिएको छैन ।
घोडाघोडी नगरपालिका वडा नम्बर १ बाटो ग्राभेल तथा स्तरोन्नतीको स्थान परिवर्तन गरिएको छ । त्यस्तै वडा नम्बर २ मा वडा कार्यालयको तला थप्ने खर्च ११ लाख रुपैया मध्ये एसी खरिदमा तीन लाख, टनकपुर कुण्टी अधुरो बाटो निर्माणमा चार लाख र जोखा अधुरो बाटो ग्राभेलमा चार लाख रुपैया रकमान्तर गरिएको छ ।
त्यस्तै, चिडिया ताल पर्यटन विकास समितीलाई माछाका भुरा वितरण गर्न विनियोजन गरिएको दुई लाख रुपैया वडा भित्रका खाल्डा पुर्ने कार्यका लागि रकमान्तर गरिएको छ ।
त्यस्तै, तरकारी कृषकलाई बिउ वितरण गर्न विनियोजन गरिएको रकम कटौैती गरी वडा भित्रका खाल्डा पुर्ने कार्यका लागि रकमान्तर गरिएको छ । भने शुक्तिकाडा नदीमा तटबन्ध निर्माणको तीन लाख रुपैया बाटो मर्मत शिर्षकमा रकमान्तर गरिएको छ । त्यस्तै, चिडिया तालमा गेट निर्माणका लागि विनियोजित ८० हजार रुपैया प्रहरी चौकी निर्माणमा खर्च गरिने भएको छ ।
त्यस्तै, सुक्तीकाडा नदी कटान हुने ठाउमा वृक्षारोपणका लागि विनियोजन गरिएको एक लाख रुपैया प्रहरी चौकीमा योग भवन निर्माणमा र विद्युत पोल खरिदको चार लाख रुपैया बाटो ग्राभेलमा रकमान्तर गरिएको छ ।
त्यस्तै, वडा नम्बर ३ मा आलु विउ वितरणको लागि विनियोजन गरिएको एक लाख रुपैया बाख्रा पाठा वितरणमा खर्च गरिने भएको छ ।
वडा नम्बर ४ मा सामाजिक विकास तर्फको चार लाख ८० हजार रुपैया मध्ये मेलघट्टी आधारभुत विद्यालय मर्मत शिर्षकमा दुई लाख १० हजार, मरुवा मन्दिर निर्माणमा एक लाख ३५ हजार, खेलकुदमा एक लाख ३५ हजार तथा बाख्रा पालनमा ७० हजार रुपैयाँ खर्च गरिने भएको छ ।
त्यस्तै, आर्थिक विकास तर्फको दुई लाख ४० हजार रुपैयामध्ये ७० हजार रुपैयाँ बाख्रा पालनमा, आयमुलक सीप विकासमा एक लाख ७० हजार र वर्षायाममा ग्राभेलिङका लागि दुई लाख ५० हजार रुपैया खर्च गरिने भएको छ ।
वडा नम्बर ५ मा सरैया सामुदायिक भवनदेखि रामतालसम्म बाटो ग्राभेलको लागि विनियोजित दुई लाख रुपैयाँ सरैया सामुदायिक बनदेखि लक्ष्मण चौधरीको घरसम्म बाटो ग्राभेलमा खर्च हुने भएको छ । भने सिर्जना टोलमा बोरिङ जडान तर्फको दुई लाख रुपैया सरैया स्वास्थ्य चौकीमा शौचालय निर्माणमा रकमान्तर गरिएको छ ।
शितलपुरको झोलुंगे पुलको स्तरोन्नती तर्फको आठ लाख रुपैया शिवशक्ति टोलदेखि बनखेतसम्म बाटो ग्राभेलमा खर्च गरिने भएको छ ।
त्यस्तै, वडा नम्बर ६ मा बडातोल आधारभूत विद्यालयदेखि प्रतिखेलसम्म माटो पटानी तथा ग्राभेल तर्फको दुई लाख ५० हजार रुपैया बडातोल आधारभूत विद्यालयदेखि प्रतिखेलसम्म सडक मर्मत शिर्षकमा खर्च हुने भएको छ । भने बसन्तामा शिव मन्दिर निर्माण तर्फको तीन लाख रुपैया पटानी तथा ग्राभेल कार्यमा खर्च गरिने भएको छ ।
त्यस्तै, राजीपुरमा प्रतिक्षालय निर्माण र प्रतिखेतमा दुई वटा स्वास्थ्य खोप केन्द्र निर्माणको ६० हजार रुपैया प्रतिक्षालय निर्माण रकमान्तर गरिएको छ ।
भने वडा नम्बर ७ मा बुट्काबाबामा काडेतार घेरबार तर्फको दुई लाख ५० हजार रुपैया बुट्का बाबा मन्दिर धर्मशाला निर्माणमा खर्च गरिने भएको छ । त्यस्तै, हरिनगर चोकदेखि करैचासम्म बाटो ग्राभेल तर्फको १० लाख रुपैया हरिनगर मन्दिरदेखी वडा कार्यालयसम्म बाटो ग्राभेल शिर्षकमा खर्च हुने भएको छ ।
त्यस्तै, वडा नम्बर ८ मा दिपनगरदेखी तारानगरसम्म बाटो ग्राभेल तथा कल्भर्ट कार्य तर्फको ११ लाख रुपैया दिपनगरदेखी तारानगरसम्म तीन वटा कल्भर्ट निर्माणमा खर्च गरिने भएको छ । भने कल्भर्ट निर्माण तर्फको पांच लाख रुपैया बाटो ग्राभेलमा खर्च गरिने भएको छ । त्यस्तै, शिखरझाला माटो पटान तर्फको तीन लाख रुपैया बोरिङ जडानमा रकमान्तर गरिएको छ । भने रजेना पानी व्यवस्थापन तर्फको चार लाख ४० हजार रुपैयामा बृद्धि गरि नौ लाख ४० हजार रुपैया खर्च गरिने जनाइएको छ ।
त्यस्तै, वडा नम्बर १० मा घुम्निभाकल तथा खल्ला बगर खेती बिउ सहयोग कार्यक्रम तर्फको ५० हजार रुपैया कान्द्रा नदीमा अधुरो जैविक तटबन्धनमा खर्च गरिने भएको छ । वडाको वस्तुगत तथ्यांक संकलन तर्फको एक लाख रुपैया आमखोईयामा काठे पुल निर्माण तथा हाट बजार व्यवस्थापन र माटो पटानीमा खर्च गरिने भएको छ ।
त्यस्तै, कोल्ड स्टोर जाने बाटो मर्मत तर्फको आठ लाख रुपैया बजेट कोल्ड स्टोर जाने बाटो निर्माण तथा ग्राभेल शिर्षकमा रकमान्तर गरिएको छ । भने एक घर एक बिरुवा अभियानको दुई लाख ५० हजार रुपैया राधाकृष्ण र शिव मन्दिरमा लिचीका रुख लगाउन खर्च हुनेछ ।
त्यस्तै वडा नम्बर १२ मा शिवपुरमा बाटो निर्माण तर्फको तीन लाख रुपैया गुरही बडीगाउ ब्लक निर्माणमा खर्च हुने भएको छ । भने कोटा चर्चमा शौचालय तथा सहारा चर्च निर्माण तर्फको दुई लाख ५० हजार रुपैया मख्खिया तालदेखी टिम्मल चौरसम्म बाटो निर्माण तथा ग्राभेल कार्यमा र बनबर्षा प्राथमिक विद्यालयदेखी खोपासम्म बाटो निर्माण तर्फको चार लाख रुपैया महादेव चोकदेखी टिम चोकसम्म बाटो निर्माणमा रकमान्तर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार