२७ मंसिर २०८१, बिहीबार

एचआइभी संक्रमित महिलालार्इ घर निकाला



धनराज बिक/लम्की । घरपरिवार आफन्त तथा माइतीबाट तिरस्कार गरिएकी लम्कीचुहा नगरपालिकाका एक एचआइभी संक्रमित महिला दुई जना नाबालक छोराछोरीसहित विचल्लीमा परेकी छिन् ।

लम्कीको मलभंगामा आफन्तको घरमा आश्रय लिइरहेकी २२ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई उनकी देउरानीले गत आइतबार घरमा बस्न नदिएपछि छोराछोरीसहित अलपत्र परेकी छिन् ।
गत २१ गते नियमित स्वास्थ्य चेकजाँच गरी टीकापुरबाट साँझ घर आइपुगेकी पुगेको बेला देउरानी जमुनाले एक्कासी “तत्काल घर खाली गर” भनेको लक्ष्मीले बताईन । उनले भनिन्– मैले आज राती बस्न दिनुस्, भोली खाली गर्छु भने । रातभरी सुत्न सकिन भोली बिहान बच्चा लगेर कहा“ जाने भन्ने चिन्ताले सतायो । २२ गते एकाबिहानै देउरानीले “पाँच मिनेटमै घर खाली गर” भनेपछि रुँदै सामान सहित बच्चा बोकेर घरबाट निस्किए ।
लक्ष्मीको २०७१ सालमा मागी विहे भएको थियो । उनका श्रीमानको कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा बसोबास थियो । उनको श्रीमानको एचआइभी संक्रमणका कारण २०७५ साल कार्तिकमा निधन भयो । त्यतिन्जेलसम्म लक्ष्मीलाई आफ्ना श्रीमान एचआइभी संक्रमित भएको थाह थिएन । “रोगलाई लुकाएर बसेका उहा“को निधन हुनु एक दिनअघि मात्रै एचआइभी संक्रमण रहेको थाह पाए” उनले भनिन्– मेरो विहे भएको केही वर्षपछि कान्छी सासुको मृत्यु भयो । त्यसको केही वर्षपछि श्रीमानको पनि मृत्यु भएपछि घर (कालीकोट) बस्न गाह्रो भयो । अनि म गत वर्ष मंसिरमा दुई वर्षको छोरा र डेढ वर्षकी छोरी बोकेर कैलालीमा रहेको परिवारसंग बस्न थाले ।
कैलाली आएपछि लक्ष्मीले नियमित रुपमा एचआईभी रोगको औषधी सेवन गर्दै आएकी छिन् । आफूलाई एचआइभी संक्रमण भएको थाह पाएपछि छरछिमेकले नराम्रो व्यवहार गर्न थालेको उनले सुनाइन् । २२ गते घरबाट निकाला गरिएपछि सडकमा अलपत्र परेकी लक्ष्मीलाई एचआईभी संक्रमित केही महिलाले उनको सरसामान आफ्नो घरमा राख्न दिए । लक्ष्मीले छोरा र छोरीलाई त्यही छोडेर वडा कार्यालयलाई गुहार्न पुगिन् । उनकी देउरानीले भने आफूले लक्ष्मीलाई घरबाट ननिकालेको दाबी गरिन् । भन्छिन्– मैले घरबाट निकालेको होइन, मेरी छोरीसंग झगडा गरेर आफै घरबाट हिडेकी हुन ।
लक्ष्मीका माइती लम्कीचुहा नगरपालिकाको कौवापुरमा बस्छन् । तर उनका माइतीले पनि उनलाई “त माईत नआउनु, हाम्रा लागि त मरिस्” भनेको उनले बताइन् ।
उनको १८ वर्षको उमेरमा विहे भएको थियो । कलिलो उमेरमा श्रीमान गुमाएको तथा एचआइभी संक्रमणको पीडा समेत भोग्नु परेपछि उनले छोराछोरीसहित आत्महत्या गर्ने सोच बनाएको बताइन् । “नगरपालिकाको एउटा कार्यक्रममा एक जना मनोसामाजिक परामर्शकर्तासंग भेट भएपछि र उनले सम्झाएपछि मर्ने सोच छोडे” उनले सुनाइन् ।
अहिले लक्ष्मीलाई ८६ वर्षीय एैमानसिंह बुढाले आश्रय दिएका छन् । वडा कार्यालयमा आफ्नो बेदना पोखिरहेको वेला त्यही रहेका बृद्ध ऐमानसिंहले उनलाई आफ्नो घर लगेका थिए । “घृणा गरेर घरबाट निकालिएकी उनी रुदै भाडामा कोठा खोजी रहेको देखेपछि मलाई धेरै दुःख लाग्यो । उनको इच्छा हुन्जेलसम्म मेरो घरमा बस्छिन्” उनले भने– मलाई उनीसंग भाडा पनि चाहिएको छैन ।
बृद्ध बुढाकी श्रीमती ललिताले पनि आफ्ना श्रीमानले लक्ष्मीलाई घरमा आश्रय दिएको सन्तोष लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार