१० श्रावण २०८१, बिहीबार

बाह्रबन साझेदारी बनका कामहरू प्रभावित



धनगढी । बाह्रवन साझेदारी वनको सम्पूर्ण कामहरू प्रभावित भएका छन् । बाह्रवन साझेदारी बनको बैंक खाता रोक्का भएपछि संरक्षण, व्यवस्थापन तथा सामाजिक विकासका कामहरू प्रभावित भएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गठन गरेको “बाह्रवन साझेदारी बन कार्यक्रममा भएको अनियमितता छानबिन संसदीय उपसमिति” ले अध्ययनपछि बैंक खाता रोक्का गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले निर्देशनालयलाई १० दिनभित्र प्रतिवेदन तयार गरेर पठाउन परिपत्र गरेको थियो । निर्देशनालयले बन डिभिजन कार्यालय कैलालीलाई सो पत्र पठाएको थियो ।
मन्त्रालय र निर्देशनालयले बन डिभिजन कार्यालयलाई १० भित्र प्रतिवेदन तयार गर्न भने पनि एक महिना पुग्दा समेत डिभिजन कार्यालयले खेस्रा बाहेक आधिकारिक प्रतिवेदन बुझाउन नसकेको मन्त्रालयका सचिव मेघनाथ काफ्लेले बताए । उनले भने– हामीले संसदीय समितिबाट प्रतिवेदन आएपछि संरक्षणबाहेकका अन्य काम रोक्ने सहित १० दिनभित्र प्रतिवेदन पेश गर्न परिपत्र गरेका थियौं । उनका अनुसार निर्देशनालयले एक महिना पुग्दा समेत कुनै प्रतिवेदन पेस गरेको छैन । सचिव काफलेले भने– अहिले नै निर्णय भन्न मिल्दैन । यसको निकास कहिले हुन्छ थाहा छैन ।
प्रदेश मन्त्रालयले निर्देशनालयलाई परिपत्र गरेपछि निर्देशनालयमार्फत बन डिभिजन कार्यालयमा परिपत्र गरिएको थियो । बन डिभिजन कार्यालयका प्रमुख अम्मर बुलनले भने– हामीले खेस्रा प्रतिवेदन पेश गरिसकेका छौं । त्यसमा सचिवज्यूको प्रतिक्रिया आएपछि कार्यालयबाट आधिकारिक प्रतिवेदन मन्त्रालयमा पेश गर्ने छौं ।
तर, सचिव काफ्लेले खेस्रा प्रतिवेदन भएकाले आफुले नहेरेको बताए । उनले भने– यो खेस्रा प्रतिवेदन भएकाले अहिलेसम्म मैले खोलेको पनि छैन र तपाइलाई त्यो विषयमा भन्न पनि मिल्दैन ।
बन डिभिजन कार्यालय कैलालीले बुझाएको खेस्रा प्रतिवेदनमा संरक्षणको काम प्रभावित भएको उल्लेख छ । वन डिभिजन प्रमुख वुलनले भने– संरक्षण र वन व्यवस्थापनको कामलाई निरन्तरता दिनुपर्ने र सामाजिक विकासको काम अर्को नीति नआएसम्म रोक्न भनि मन्त्रालयमा सुझाव पठाएका छौं ।
संसदीय उपसमितिले भने वैज्ञानिक वन व्यवस्थापन अवधारणा नै गलत भएको ठहरसहितको प्रतिवेदन तयार पारेको थियो ।
बन डिभिजन कार्यालय कैलालीले बुझाएको खेस्रा प्रतिवेदनमा समितिले खाता रोक्का गरेपछि संरक्षणको काम र वन व्यवस्थापनको काम प्रभावित भएको जनाइएको छ । खेस्रा प्रतिवेदनमा भनिएको छ– अहिले वन डढेलो, चोरी, शिकारी लगायतका क्रियाकलाप बढ्ने देखिएको छ । वाह्रवनमा आठ जना वन संरक्षक रहेका छन् । त्यस्तै व्यवस्थापनमा पनि ज्यालादारीमा काम गर्ने कामदार रहेका छन् । बैंक खाता रोक्का हुँदा उनीहरूले काम गर्ने वातावरण वनेको छैन ।
वन डिभिजन कार्यालयका प्रमुख बुलनले ‘खाता रोक्का भएपछि संरक्षण र दैनिक ज्यालादारीमा काम गर्ने मानिसको काम गर्ने मनोवल घट्ने’ बताए ।
बन डिभिजन कार्यालयले बाह्रवन साझेदारी कार्यक्रमको गत वर्षको सामाजिक विकासको भुक्तानी गर्न दिन सुझाव दिएको छ । सो प्रतिवेदनमा ‘गत वर्ष सामाजिक विकास कार्यक्रम अन्र्तगत भएका केही कामहरूको भुक्तानी हुन सकेको छैन । त्यसको भुक्तानी हुनुपर्छ भने सोही समयमा घाटगद्दी भएका काठहरू पनि विक्री वितरण गर्न पाउनुपर्छ ।’
बन डिभिजन कार्यालयका अनुसार गत वर्ष ४० हजार क्यूफिट काठमात्र विक्री भएको र घाटगद्दी भएको काठको विवरण आउन बाँकी रहेको छ ।
वाह्रवन साझेदारी वनका अध्यक्ष ठक्करबहादुर शाहीले ‘संरक्षणसंगै वन व्यवस्थापन र सामाजिक विकासको कामहरू प्रभावित भएको’ बताए । उनले यस वर्ष वन व्यवस्थापनका लागि एक लाख क्यूफिट काठ कटानी गर्ने कार्यक्रम पारित भएको र सामाजिक विकास कार्यक्रमअन्र्तगत एक वडामा १२ लाख रुपैयाका दरले रकम विनियोजन गरिएको बताए । उनले खाता रोक्का भएपछि काठ कटानी र सामाजिक विकास कार्यक्रममा ठुलो प्रभाव परेको बताए ।

यो पनि हेर्नुहोस– 

संसदीय उपसमितिको निष्कर्ष– बाह्रवन साझेदारीमा व्यापक अनियमितता

संसदीय समितिले बन ऐनविपरित काम गर्यो– बाह्रबन समिति

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार