११ श्रावण २०८१, शुक्रबार

कैलारीको वडा नं. १ को सार्वजनिक सुनुवाई



धनगढी । कैलारी गाउँपालिका वडा नम्बर १ को सार्वजनिक सुनुवाई सोमबार कैलारीको बिसनपुरमा सम्पन्न भएको छ ।

वडा कार्यालयले आयोजना गरेको सावजनिक सुनुवाई कार्यक्रम आदिवासी जनजाति पत्रकार महासंघ, कैलालीको सहकार्यमा भएको थियो । एक करोड ५६ लाख ७७ हजार सात सय ६३ रुपैयाँमा ३४ वटा विकास योजना सञ्चालन गरेको वडा नं. १ ले १६ वटा योजना सम्पन्न गरेको छ भने १२ वटा योजनाको काम जारी रहेको र ६ वटा योजनाको काम शुरु हुन बाँकी रहेको प्रतिवेदन वडा सचिव राजेश चौधरीले प्रस्तुत गरेका थिए । उनले सामाजिक सुरक्षा भत्ता वितरणका लागि पहिलो र दोस्रो किस्तामा २७ लाख ७३ हजार दुई सय रुपैयाँ आएको र करिब ७० जनाले खाता नखोलेकाले उनीहरुको दोस्रो किस्ताको रकम भुक्तानी गर्न बाँकी रहेको बताए ।
कार्यक्रममा सहभागीले योजना कायान्वयन, बजेट निकासा, उपभोक्ता समिति गठन, अनुगमन समितिको काम, सडकको चौडाई, सार्वजनिक सम्पत्ति सम्बन्धी व्यवस्था, मानवीय विकासमा लगानी, तालीम, गैरसरकारी सस्थासंगको समन्वय, कर्मचारी व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा लगानी, बाँकी रहेका योजनाहरुको कार्यान्वयनको स्थिति लगायतका विषयमा वडा अध्यक्ष बालकृष्ण डगौराथारुलाई प्रश्न गरेका थिए ।
सहभागीहरुको प्रश्नको जवाफ दिंदै वडा अध्यक्ष डगौराथारुले पर्याप्त कर्मचारी नहुँदा र प्रदेश र संघबाट योजना कार्यान्वयनका लागि कार्यादेश नआएकाले ६ वटा योजनाको काम शुरु हुन नसकेको बताए । उनले एक जना वडा सचिव र कार्यालय सहयोगीको भरमा मात्रै काम गर्नु पर्दा योजना कार्यान्वयनमा ढिलाई भएको बताए । गाउँपालिकामा प्राविधिक कर्मचारी नभएकाले पनि योजना सम्पन्न भएपनि रकम निकासा गर्नमा ढिलाई भएको स्वीकार गरे । उनले जारी र बाँकी योजना कार्यान्वयन गरी समयमै सम्पन्न गर्न आफूहरु लागिपरेको समेत दावी गरे ।

वडा अध्यक्ष डगौराथारुको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन पत्रकार मुकेश टेंर्राले गरेका थिए । कार्यक्रममा वडा राजनीतिक दल, सहकारी, सामुदायिक वन, युवा क्लब, उपभोक्ता समिति, स्वास्थ्य स्वयम्सेविका, आमा समूहका प्रतिनिधि लगायत भल्मन्सा र सर्वसाधारणको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार