११ श्रावण २०८१, शुक्रबार

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा सञ्चालन हुन्छ: शिक्षामन्त्री पोखरेल



धनगढी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सुदरपश्चिम प्रदेशको गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने सरकारको तयारी रहेको बताएका छन् ।


मन्त्री पोखरेलले सोमबार बिहान धनगढीमा पत्रकारहरुसंग कुरा गर्दै गेटामा निर्माणाधीन मेडिकल कलेजको भौतिक निर्माणको काम तीब्र गतिमा भइरहेको र यो सहित केही अन्य प्रदेशमा संघीय सरकारले प्रतिष्ठानका रुपमा अगाडि बढाउने तयारी गरिएको बताएका हुन् । मन्त्री पोखरेलले धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जस्तै विश्वविद्यालय सरह मान्यता दिएर गेटामा मेडिकल कलेज सञ्चालन गरिने जनाए ।
उनले गेटा सहित कर्णाली प्रदेशको सुर्खेत, प्रदेश नम्बर ५ को बुटवल र प्रदेश नम्बर २ को बर्दिबासमा प्रतिष्ठानका रुपमा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए ।
लामो समयदेखि बिभिन्न समस्यामा अल्झिएको सुदूरपश्चिम विश्वविद्यालयको समस्या समाधान र विश्वविद्यालयलाई ब्यवस्थित गर्ने तर्फ सरकारले पहल गरिरहेको मन्त्री पोखरेलले बताए । उनले विश्वविद्यालयका कर्मचारीहरुलाई चाँडो भन्दा चाँडो तलब खुवाउने र सिनेट बोलाउने गरी तयारी भइरहेको बताए । विश्वविद्यालयमा समायोजन भएका कर्मचारीहरुको जटिलतालाई समाधान गर्ने गरी काम भइरहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार