१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा मसिनो तथा बास्नादार धानखेती विस्तार कार्यक्रमः आयात प्रतिस्थापन गर्ने लक्ष्य



धनगढी । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मसिना तथा बासनादार धान खेती विस्तारका लागि प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्यक्रम अनुसार कैलाली र कञ्चनपुरमा मसिनो तथा बासनादार धान उत्पादन बृद्धि गर्दै आयात प्रतिस्थापना गर्ने लक्ष्य लिएको जनाएको छ ।
मन्त्रालयले गत मंगलबार सूचना जारी गर्दै कैलाली र कञ्चनपुरका इच्छुक कृषक, कृषक समुह, सहकारी संस्था, जल समिति, फर्म, कम्पनी र उद्यमीहरूलाई बैशाख १५ गतेसम्म कृषि ज्ञान केन्द्र, सम्पर्क कार्यालय कञ्चनपुर, सम्पर्क कार्यालय कैलाली वा सिधै मन्त्रालयमा निवेदन पेस गर्न आह्वान गरेको थियो ।
मन्त्रालयका सचिव रविन्द्रबहादुर प्रधानले मन्त्रालयले मसिनो तथा बासनादार धानको उत्पादन बृद्धिका लागि विशेष कार्यक्रम अघि बढाइएकोे बताए । मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ– पकेट वा ब्लकका रूपमा खेती गर्ने समुह अथवा सहकारी संस्था, जल उपभोक्ता समिति वा एकै ठाउँमा बढीभन्दा बढी क्षेत्रफल खेती गर्ने प्रस्तावलाई प्रथामिकता दिइने छ । सूचनामा “व्यक्तिको हकमा कम्तिमा एक बिघा जमिनको प्रस्ताव हुनुपर्ने” उल्लेख छ ।
मन्त्रालयका सचिव प्रधानले यो कार्यक्रमअन्तर्गत किसानले धान बीऊको मूल्यमा ७५ प्रतिशत अनुदान दिइने तथा जिंक सल्फेटमा अनुदान, बाली संरक्षणमा सहयोग र बाली बिमा गराउन सहयोग गरिने लगायतका सेवा सुविधा प्राप्त गर्ने बताए ।

त्यस्तै, मन्त्रालयले धानको वीऊ आपुर्तिकतालाई सूचिकृत हुन आउने बारेको सूचना पनि जारी गरेको छ । मन्त्रालयले जारी गरेको सो सूचनामा वीऊ गुणस्तरीय हुनुपर्ने, २० प्रतिशत किसानले बीऊ नउम्रिएको गुनासो गरेमा क्षतिपूर्ति दिनुपर्ने र आपूर्तिकर्ता स्वयं बीऊ वितरण क्षेत्रसम्म गएर सहजीकरण गर्नुपर्ने सर्तहरू रहेका छन् ।
मन्त्रालयले कैलाली र कञ्चनपुर जिल्लाका दुई सय हेक्टरमा सो खेती विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशलाई चामलमा आत्मनिर्भर बनाउन मन्त्रालयले मोटो धानभन्दा मसिनो र बासनादार धान उत्पादन बृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका सचिव प्रधानले बताए । मन्त्रालयले साम्बा मंसुली, सबयग धान, सुगन्धीत धान, सुख्खा–३ र ६ धान, चैते धान लगायतको मसिना तथा बासनादार धान उत्पादनमा जोड दिने जनाएको छ ।
मन्त्रालयका विकास अधिकृत यज्ञराज जोशीले मोटो चामलभन्दा मसिनो चामलको उत्पादन राम्रो हुने बताए । विकास अधिकृत जोशीले भने– मोटो धान र मसिनो धानको मूल्यमा खासै अन्तर नहुँदा र मसिनो धानभन्दा मोटो धान छोटो अवधिमा उत्पादन हुने तथा बजनदार हुने भएकाले कृषकहरू प्रायः मोटो धान खेतीमा बढी ध्यान दिने गरेका छन् ।
‘४० वर्षअघि भारतमा चामल निर्यात गर्ने हामी नेपालीहरू पछिल्ला दशकमा भारतबाटै वार्षिक ठूलो परिमाणमा चामल आयात गर्न बाध्य भएका छौं’ विकास अधिकृत जोशीले भने– चामलमा आत्मनिर्भर बनाउन सबैको सहयोग आवश्यक छ ।
मन्त्रालयले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा पहाडका चार जिल्लामा मसिनो तथा बासनादार खेती विस्तार गर्ने जनाए पनि अहिले सो बारे कुनै प्रक्रिया अघि बढाएको छैन । मन्त्रालयले प्रदेशको डोटीमा जोरायली बासमति धानका लागि ६० बिघा तथा बझाङ, अछाम र बैतडीमा खुमलटार जातको धान उत्पादनका लागि २०÷२० बिघामा खेती विस्तार गरिने जनाएको थियो ।
किसानहरूले भने समयमै वीऊ नपाउने, छाडा पशुचौपायाका कारण धानमा क्षति पुग्ने, समयमै सरकारले समर्थन मूल्य नतोक्दा किसानहरूले सस्तो मूल्यमा धान बेच्नुपर्ने, सिंचाईं सुविधा लगायतका व्यवस्था नहुँदा किसानहरू आधुनिक कृषि खेतीप्रति आकर्षित हुननसकेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार