११ श्रावण २०८१, शुक्रबार

प्रेस स्वतन्त्रता हनन भयो: देउवा



धनगढी । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाचार लेखेको भरमा साइबर अपराध मुद्दा लगाएर सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको बताएका छन् ।


बुधबार धनगढीमा भएको कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको सुदूरपश्चिम प्रदेश भेलामा सभापति देउवाले सरकारले अधिनायकवादी शासन गरिरहेको आरोप लगाएका हुन् । ‘पत्रकारहरुलाई साइबर अपराधका मुद्दा लगाएर पक्राउ गर्न लगाउनु सरकारको अनैतिक क्रियाकलाप हो,’ उनले भने, ‘पत्रकारका कलम बन्द गर्ने खालका सरकारको क्रियाकलाप विरुद्ध कडा रुपमा प्रस्तुत हुने दिन आएको छ ।’
सरकारले आफ्ना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने प्रयास गरेको देउवाले टिप्पणी गरे । उनले पत्रकारले गलत समाचार लेखेमा अदालती प्रक्रिया खुला भएपनि प्रहरी लगाएर पक्राउ गरी प्रेसलाई दमन गरेको बताए ।
कम्युनिष्ट नेताहरु नै भ्रष्ट रहेको आरोप लगाउँदै देउवाले भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकारका कलम बन्द गराउने खेलमा लागेको बताए । ‘सरकारका अधिनायकवादी गतिविधि टुलुटुलु हेरेर बस्न नहुने भन्दै देउवाले सरकारविरुद्ध सशक्त भएर लाग्न पार्टी कार्यर्ताहरुलाई निर्देशन दिए ।
दुई तिहाइको कम्युनिष्ट सरकार बनेपछि जनताल देशमा हत्या, हिंसाको आतङ्क बढेको देउवाले टिप्पणी गरे । उनले कम्युनिष्ट सरकारले कहिल्यै जनताका पक्षमा काम गर्न नसक्ने संकेत एक वर्षमा पुष्टी भएको दावी गरे ।
नेपाली कांग्रेसले सबै धर्म, जातजातिको सम्मान गर्ने गरेको बताउँदै देउवाले सरकारको मन्त्रीमण्डल हेरेर कम्युनिष्ट पार्टी कुन जातिलाई कति सम्मान गर्छ भन्ने भन्ने स्पष्ट भएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक, सुदूरपश्चिमका ९ वटै जिल्लाका पार्टी सभापति, प्रदेशसभा सदस्यहरु, भातृ संगठनका कार्यकर्ता लगायतको सहभागिता थियो ।
यसअघि, टीकापुरमा पत्रकारहरुसंग कुरा गर्दै सभापति देउवाले टीकापुर घटनाका कारण सद्भाव विगिएको र पछिल्लो समयमा पुनः मेलमिलाप बढ्दै गएको बताए । ‘मेलमिलाप अझै सुधार्न सबैको सहयोग आवश्यक छ,’ उनले भने ।
पार्टीभित्रको आन्तरिक गुटबन्दीको आगामी पार्टी अधिवेशनले अन्त्य गर्ने पनि उनले बताए । अस्तव्यस्त बनेका पार्टी र भातृ संगठनहरु चाडै सुधार हुने दावी देउवाको छ । देउवाले पार्टी अधिवेशनको मुखमा आफूविरुद्ध गुटबन्दीको गलत प्रचारबाजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार