३ माघ २०८१, बिहीबार

सरकार महिलामैत्री कानुन निर्माण गर्न प्रतिवद्ध– मुख्यमन्त्री



धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले महिला मैत्री कानुन निर्माण गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन् ।
‘अझै पनि प्रदेश नम्बर ७ का विभिन्न स्थानमा कुनै न कुनै कारणले महिलामाथि विभेदको अवस्था कायमै छ’ बिहीबारदेखि धनगढीमा शुरु भएको महिला मञ्च २०७४ को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने– ‘सरकार महिलाहरूमाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कटिवद्ध छ । उनले सामाजिक, साँस्कृतिक र मनोगत रूपान्तरणका लागि सामाजिक क्रान्तिको आवश्यक रहेको पनि चर्चा गरे ।
‘हामीले कानुन मात्र निर्माण गरेर हुँदैन रहेछ’ मुख्यमन्त्री भट्टले मानिसको सोचमा परिवर्तन नल्याएसम्म जस्तोसुकै कडा कानुन बनाए पनि हिंसा न्यूनीकरण गर्न नसकिने बताए ।
उनले सामाजिक सांस्कृतिक कुसंस्कारका कारण हुने घटना न्यूनीकरणका लागि सामाजिक जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए । भने– ‘अभियानको शुरुवात जनप्रतिनिधिहरूले गर्नुपर्छ । मुख्यमन्त्री भट्टले प्रदेशमा रहेका विकृति, विसंगति, कुरीति अन्त्यका लागि प्रदेश सरकारले कडा नीति बनाउने बताए ।
उनले बोक्सीको आरोपमा कुटपिट घटनालाई समाज ‘स्विकृत अपराध’को संज्ञा दिए । ‘सबैका अगाडि बोक्सी लगायतका आरोपमा कुटपिट हुन्छन्, तर सबै मानिस मनोरञ्जन लिएर हेरिरहेका हुन्छन्’ उनले भने– ‘गलत कुराको प्रतिवाद नगरेसम्म यस्ता कुरीतिको अन्त्य सम्भव छैन ।’
कार्यक्रममा महिला मानवअधिकार रक्षक संञ्जालका केन्द्रीय अध्यक्ष रेणु राजभण्डारीले ५१ प्रतिशत महिला भएको समाजमा अझैं पनि महिलालाई दोस्रो दर्जाको रूपमा हेरिने गरेको चर्चा गरिन् । अध्यक्ष राजभण्डारीले महिलाहरूको श्रम र शरीरलाई सम्मान नगरिएसम्म समाज तथा देशको आर्थिक विकास सम्भव नहुने बताइन् ।
उनले देशभरी ७ नम्बर प्रदेशमा सबैभन्दा बढी लैगिंक असमानता रहेको बताइन् । उनले यस प्रदेशमा छाउपडि, बहुविवाह, बोक्सीको आरोपमा कुटपिट, बलात्कार लगायतका घटना अन्य प्रदेशको तुलनामा बढी रहेको बताइन् ।
कार्यक्रममा ७ नम्बर प्रदेशका उपसभामुख निर्मला जोशी, सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी, प्रदेशका महिला सांसद, कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, स्थानीय तहका महिला जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कैलालीको धनगढीमा बिहीबारदेखि शुरु भएको प्रदेशस्तरीय महिला मञ्च २०७४ तीन दिनसम्म सञ्चालन हुने छ ।
‘महिलामैत्री गणतान्त्रिक नेपाल सम्भव छ, हामी बनाउँछौं’ भन्ने नाराका साथ शुरु भएको कार्यक्रममा महिलाका मुख्य समस्याको पहिचान गर्ने, हानिकारक परम्परा र तीनका प्रभाव, बालविवाह, महिलाका प्रजनन स्वास्थ्य लगायतका विषयमा छलफल गरी प्रशिक्षण दिन सक्ने स्रोत व्यक्तिको पहिचान सम्पर्क गर्ने, प्रशिक्षणको जिम्मेवारी दिने, महिला जनप्रतिनिधिहरूलाई महिलामैत्री समाज निर्माण गर्नका लागि आवश्यक काम र प्रक्रियाका बारेमा सुझाव संकलन गर्ने लगायतका उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार