१२ श्रावण २०८१, शनिबार

क्लवले खुलेर बोल्न सिकायो



धनगढी । पहिले आफ्नो परिचय दिन समेत डराउने कतिपय सामुदायिक विद्यालयका विद्यार्थीहरू अहिले खुलेर बोल्न थालेका छन् ।
कैलालीको फूलवारी, उर्मा र हसुलियाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अहिले विद्यालयमा हुने खराब क्रियाकलापका विरुद्ध आवाज समेत उठाउन थालेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्मास्थित शिवगंगा आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत रोशन खड्काले वालक्लवका कारण विद्यार्थीहरूमा गलत क्रियाकलापविरुद्ध बोल्ने बानीको विकास भएको बताए । रोशन विद्यालयमा गठन भएको वाल क्लवका सचिव पनि हुन् ।
उनी जस्तोसुकै परिस्थितिमा पनि विद्यार्थीहरूले आफ्नो परिचय दिन सक्ने र बालक्लव मार्फत आवाज उठाउन थालेपछि विद्यालयमा सुधार समेत देखापरेको बताउँछन् ।
‘क्लवको माध्यमबाट हामी आफैले विद्यालयमा विभिन्न प्रतियोगितासंगै सरसफाई समेत गर्ने गरेका छौं’ उनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान बृद्धिमा समेत टेवा पुगेको बताए ।
सोही विद्यालयको कक्षा सातमा अध्ययनरत रिनु चौधरीले वाल क्लवमा लागेसंगै बोल्ने भएको बताए । ‘पहिले सरसंग बोल्न पनि डर लाग्थ्यो’ रिनुले भनिन्– क्लवमा आवद्ध भएसंगै तालिम लिएपछि विद्यालयमा भएका विकृतिबारे आवाज उठाउने समेत गरेकी छु ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारी ‘एफ’ गाउँस्थित श्री खप्तडी आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत अंकिता दाहाल भन्छन्– पहिले सरले कुनै प्रश्न सोधेमा जवाफ दिन गाह्रो लाग्थ्यो, तर अहिले त्यस्तो कुनै संकोच लाग्दैन । क्लवमा लागेपछि बालबालिकाले कस्तो काम गर्ने, कस्तो नगर्ने भन्नेबारे पनि ब्र्नुहुन्छ, कस्तो गर्नुहुन्न सिक्ने मौका पाइएको उनको भनाई छ ।
‘विद्यालयमा धेरै कार्यक्रम हुन्थे, म भाग लिन जान डराउँथे’ सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत प्रिति सुनारले भनिन्– वाल क्लवमा लागेर विभिन्न कार्यक्रममा भाग लिन थालेपछि आँट पलायो । उनी अहिले आफूमा बोल्ने बानीको विकास हुनुका साथै लेख्ने क्षमतामा पनि सुधार आएको बताउँछिन् ।
उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी २५ घरस्थित फूलबारी आधारभूत विद्यालयमा कक्षा ७ का विद्यार्थी दिपेश चौधरीको अनुभव छ– हाम्रो विद्यालयमा वाल क्लव छ । हामी वाल क्लवका सदस्य मिलेर मासिक तथा वार्षिक कार्यक्रम बनाउँछौ । विद्यालयमा वृक्षारोण, सरसफाई, निवन्ध लेखन लगायतका कार्यक्रम गर्ने गर्दछौं ।
उनी वाल क्लवमा आवद्ध भएपछि विभिन्न तालिममा सहभागी बनेको र आत्मवल बढेको बताउँछन् । ‘पहिले बोल्न समेत अफ्ठेरो लाग्थ्यो’ उनी भन्छन्– तर अहिले जोसुकैसंग पनि खुलेर बोल्ने भएको छु ।
बालक्लवका सदस्यहरूले विद्यालयमा हुने विकृति तथा अन्य गलत क्रियाकलाप विरुद्ध आवाज उठाउन थालेपछि शौचालय तथा विद्यालय परिसर सरसफाई हुन थालेको उनीहरूको अनुभव छ ।
सार्वजनिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी रहेको देखाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६ र १७ (साविकको फूलवारी, उर्मा र हसुलिया गाविसका) ३० वटा सार्वजनिक विद्यालयमा वाल क्लव दर्ता भइसकेका छन् । क्लवमा आवद्ध सदस्यहरुलाई नेतृत्व विकास तथा अन्य तालिम दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार