१२ श्रावण २०८१, शनिबार

फरार रेशम संसद सदस्यमा निर्वाचित



धनगढी ।
फरार अवस्थामै चुनाव लडेका रेशमलाल चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
२०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा आरोपित रेशम कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धीभन्दा निकै बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
मंगलबार घोषित अन्तिम मतगणना परिणामअनुसार उनी निकटतम प्रतिस्पर्धीभन्दा २० हजार नौ सय ३५ मतको फराकिलो अन्तरले विजयी भए ।
उनले ३४ हजार तीन ४१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मदनकुमारी (गरिमा) शाहले १३ हजार चार सय छ मत प्राप्त गरिन् । त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार दुई सय तीन मत प्राप्त गरिन् ।
प्रदेश नम्बर ७ मा यति बढी मत अन्तरबाट विजयी हुने रेशम पहिलो प्रतिनिधि सभा सदस्य हुन् ।
वरिष्ठ प्रहरी उपरीक्षक सहित आठ जना प्रहरी र डेढ वर्षीय एक बालकको हत्या भएको टीकापुर घटनामा आरोपित रेशम घटनालगत्तै फरार भएका थिए । उनी त्यसपछि सीमावर्ती भारतीय बजारमा बस्दै आएको बताइन्छ ।
वारेशमार्फत मनोनयनपत्र दाखिला गरेका रेशमले श्रव्यदृश्य सामग्री, सामाजिक सञ्जाल, टेलिफोनमार्फत भाषणा लगायतका माध्यमबाट चुनावी प्रचारप्रसार गरेका थिए ।

अब के होला ?
कानुनविद्हरू रेशममाथि ज्यान मार्ने अभियोग लागेको हुनाले प्रहरीले जुनसुकै बेला गिरफ्तार गर्न सकिने बताउँछन् । अधिवक्ता टीकाराम भट्टराईले निर्वाचन जिते पनि मुद्दा खारेज नहुने बताए । ‘ज्यान मुद्दामा अभियोगपत्र दर्ता भएको हुनाले प्रहरीले जुनसुकै बेला गिरफ्तार गर्नुपर्छ’ उनले भने– ‘पक्राउ गरेपछि प्रहरीले अदालतमा पेश गर्नुपर्छ र अदालतले निर्णय गर्नुपर्छ ।’ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतले यस्ता खालका घटनाबारे दर्जनौं नजिर प्रतिपादन गरेकाले रेशमविरुद्धको मुद्दा फिर्ता लिन नमिल्ने बताए ।
प्रहरीले पक्राउ गर्नुपूर्व नै उनले प्रतिनिधि सभा सदस्यको शपथ लिएपछि भने उनलाई पक्राउ गर्न सभामुखको अनुमति लिनुपर्ने संवैधानिक प्रावधान छ ।
यसअघि यस्तै मुद्दामा आरोपित रौतहटबाट निर्वाचित बबन सिंहले प्रहरीको आँखा छलेर शपथ लिएका थिए ।

प्रमाणपत्र हस्तान्तरण गर्न असहज
प्रतिनिधि सभा सदस्य निर्वाचित रेशमलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न सहज अवस्था नभएको निर्वाचन अधिकृत खिमानन्द भूषालले बताए । ‘विजयी भएको प्रमाणपत्र बुझ्न भनी उहाँकी श्रीमती र आफन्त बिहान कार्यालयमा आउनुभएको थियो’ भूषालले भने– ‘मैले कानूनी व्यवस्थाबारे उहाँहरूलाई जानकारी गराएर फर्काइदिएँ ।’
विजयी हुनेले आफै कार्यालयमा उपस्थित भएर विजयी भएको प्रमाणपत्र बुझ्नुपर्ने, उपस्थित हुन नसकेमा घर ठेगानामा प्रमाणपत्र पठाउनुपर्ने र प्रमाणपत्र पनि पठाउन नसक्ने अवस्था देखिएमा प्रमाणपत्र आयोगलाई हस्तान्तरण गरिने भुसालले बताए ।

मंसिर २७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार