२० कार्तिक २०८१, मंगलवार

गुरिया पर्व मनाइयो



धनगढी । थारू समुदायको गुरही (गुरिया) पर्व विभिन्न कार्यक्रमसहित शुक्रबार मनाइएको छ । यस क्रममा धनगढीमा सखी सञ्जालको आयोजना तथा विभिन्न संघसंस्थाको संयोजनमा विभिन्न कार्यक्रम भए ।
थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको गुरही पर्व यस वर्ष धनगढीको क्याम्पस चोक (गुरही चोक) मा मनाइएको थियो ।
कार्यक्रमको एक समारोहबीच धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गरेका थिए ।
गुरही पर्व थारू समुदायको ऐतिहासिक तथा मौलिक पर्व हो । गाउँघरमा व्याप्त रहेको रोगव्याधी हटाउन र गाउँवस्तीलाई रोग मुक्तका साथै समुन्नत बनाउन गुरही वर्ष मनाइने गरिएको छ । यो पर्वमा गाउँका चेलीबेटीहरूले गाउँवस्तीको रोगव्याधीको प्रतिमा तथा पुतला (गुरही) बनाएर गाउँको दक्षिणी दिशामा सेलाउने प्रचलन छ ।
त्यस्तै, थारू पुरुषहरूले सेलाएको ती पुतलालाई चुरकी (एक प्रकारको घाँस) र केराको डाँठलाई सोटा तथा कोर्रा बनाई लैजाने र सेलाएको पुतलालाई पिट्ने गर्दछन् । यसो गर्नाले गाउँवस्तीको रोगव्याधी हट्ने र पुन: वस्तीमा नपस्ने जनविश्वास छ ।
त्यस्तै, थारू समुदायको शुरुवाती चाडको रूपमा लिइने गुरही मनाउनुको अर्थ नाग बाबालाई पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दु:खको बज्रपात नपर्ने र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरु भएको मानिन्छ ।
कार्यक्रम सखी सञ्जालकी अध्यक्ष ईन्दु चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्ट, कैलाली बार एसोसिएसनका अध्यक्ष प्रेम चन्द, थारू नेता प्रभातकुमार चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा थारू एकता समाजको आयोजनामा पनि गुरही मनाइएको छ ।
समाजको संयोजक शुक्रराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वडाध्यक्ष सन्तोष मुडभरीले गरेका थिए । कार्यक्रममा स्वागत पशुपति चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार