२२ बैशाख २०८१, शनिबार

डोटीमा पढेलेखेका युवा उम्मेदवारलाई प्राथमिकता



डोटी । डोटीमा नेकपा (एमाले)ले युवा र पढेलेखेका उम्मेदवारहरूलाई चुनावी मैदानमा अगाडि सारेको छ । जिल्लामा राजनीतिका साथै सामाजिक क्षेत्रमा पनि पहिचान बनाएकाहरू एमालेको तर्फबाट उम्मेदवारको रूपमा चुनावी मैदानमा छन् ।
सात गाउँपालिका र दुई नगरपालिका गरी नौवटा स्थानीय तह रहेको डोटी जिल्लामा नेकपा (एमाले) ले सबै स्थानीय तहहरूमा उम्मेदवारहरूको टुंगो लगाई सकेको छ ।
डोटीको शिखर नगरपालिकामा मेयर पदका उम्मेदवार शेरबहादुर मल्लले सामाजिक क्षेत्रमा लामो अनुभव संगाल्नुका साथै स्नातोकोत्तर तहसम्मको अध्यायन पुरा गरेका छन् । सामाजिक क्षेत्रमा लामो अनुभव लिनु भएका मल्लसंगै उपमेयरका उम्मेदवार राधिका बोहरा पनि सामाजिक क्षेत्रमा सक्रिय छिन् ।

डोटीको सायल गाउँपालिकामा घरदैलो अभियानका क्रममा नेकपा (एमाले)का नेता कार्यकर्ताहरू । तस्बिर : डिलबहादुर सिंह

डोटीकै सायल गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार तेजबहादुर डुम्रेलले स्नातक तहसम्मको अध्यायन पुरा गरेका छन् । जोरायल गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार दुर्गादत्त ओझाले स्नातक तह उत्तीर्ण हुनुका साथै यस अघिको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्ष पदमा निर्वाचित भई काम गरी सकेका छन् । उम्मेदवार ओझा एमाले डोटीको जिल्ला कमिटीे उपाध्यक्ष समेत हुन् ।
डोटीकै आदर्श गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार टेकबहादुर रोकाया स्नातक तह उत्तीर्ण हुन् । लामो समयसम्म शिक्षण पेशामा संलग्न रोकायाले अध्यक्ष पदमा उम्मेदवारी दिनकै लागि माध्यामिक तहको शिक्षक पदबाट राजिनामा दिनुका छन् ।
बडीकेदार गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार भक्तबहादुर साउँद र बोगटान गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार टेकबहादुर बम दुवै जनाले स्नातक तहसम्मको अध्यायन पुरा गरेका छन् । यसैगरी डोटीको केआईसिंह गाउँपालिकाका उम्मेदवार यज्ञराज जोशी लामो समय राजनीतिका साथै सामाजिक क्षेत्रमा सक्रिय छन् ।
नेकपा (एमाले) डोटीका अध्यक्ष चक्रबहादुर मल्लका अनुसार राजनीतिका साथै सामाजिक सवालमा समेत राम्ररी बुझेकाहरूलाई चुनावी मैदानमा सारिएको हो । अध्यक्ष मल्लले भने– “यस क्षेत्रका थुप्रै सवालहरूमा जानकार युवाहरूको टिम हाम्रो पाटीको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि चुनावी मैदानमा छ । यो टिम अहिलेको निर्वाचनमा विजयी भएर आयो भने स्थानीय सरकार चलाउन सक्षम हुन्छ भन्ने विश्वास छ । ”
पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाको सकिदै गर्दा यता डोटीका गाउँ बस्तीमा जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि चहलपहल बढ्दो छ ।
२० वर्षसम्म जनप्रतिनिधि बिहिन हुँदा थुप्रै किसिमका समस्याको सामना गर्नु परेपछि अब हुने निर्वाचनबाट सक्षम र सवल नेतृत्वका लागि आफू उम्मेदवारको रूपमा अगाडि आएको डोटीको जोरायल गाउँपालिकाकाबाट उपाध्यक्ष पदमा उम्मेदवार जमुना बोहराको भनाई छ । नेकपा (एमाले)का तर्फबाटका उम्मेदवार रहनु भएकी बोहराले भने– “यस पटकको निर्वाचनमा बढी समावेसी छ । भोली आउने नेतृत्वले यस क्षेत्रका थुप्रै समस्या संवोधन गर्नुपर्ने देखिन्छ त्यसका लागि पनि अनुभवी र सक्षम नेतृत्व आवश्यक हो ।”
जिल्लामा अन्य दलहरूले अझै सबै स्थानिय तहका लागि उम्मेदवार घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार