२३ बैशाख २०८१, आईतवार

स्थानीय तह निर्वाचन : दलहरूको प्रतिवद्धता– भयरहीत र शान्तिपूर्ण निर्वाचन



धनगढी । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई भयरहीत, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउन राजनीतिक दलहरूले पुन: प्रतिवद्धता जनाएका छन् ।
प्रदेश नम्बर ७ सहित मुलुकका चार प्रदेशमा आगामी ३१ गते निर्वाचन हुँदैछ । यसअघि बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन भइसकेको छ ।
आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा राजनीतिक दलका नेताहरूले निर्वाचनलाई भयरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न पूर्ण सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।
युुएनडीपी र सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता नामक संस्थाद्वारा आयोजित ‘हिंसारहीत निर्वाचनको प्रवद्र्धन’ कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालनाले निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन ठूलो भूमिका निर्वाह गर्ने चर्चा गरे ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका अध्यक्ष नरनारायण शाह (मनु) ले आफ्नो पार्टीका तर्फबाट निर्वाचन आचारसंहीता अक्षरश: पालना गरिने प्रतिवद्धता व्यक्त गरे । उनले भने– ‘हरेक राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालनामा गम्भीर भइदिने हो भने निर्वाचनको विश्वसनीयता बृद्धिमा ठूलो बल पुग्ने छ ।’
नेकपा (एमाले)का जिल्ला अध्यक्ष दीर्घ सोडारीले निर्वाचनमा कुनै पनि किसिमको अराजकता सिर्जना हुन नदिन सबै दलहरूलाई जिम्मेवार बन्न आग्रह गरे ।
माओवादी केन्द्र कैलालीका जिल्ला संयोजक लालबहादुर सोडारीले प्रमुख दलहरूले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन आचारसंहिता सम्बन्धी शिक्षा दिन आवश्यक रहेको चर्चा गरे । उनले भने– ‘कुनै पनि राजनीतिक दलले आफ्ना उम्मेदवार तथा कार्यकर्तालाई जसरी पनि चुनाव जित्नुपर्छ भन्ने दबाव दिने गरेका कारण हिंसाका घटना बृद्धि हुने गरेकाले यस्तो मानसिकतामा परिवर्तन आवश्यक छ ।’
त्यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कैलाली जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मीले आजको जमानामा हिंसात्मक गतिविधिबाट चुनाव जित्न सकिन्छ भन्ने सोच त्याग्न आग्रह गरे । उपाध्यक्ष कुश्मीले भने, ‘निर्वाचनमा भाग लिइरहेका दलहरूले एकआपसमा समझदारी गरेर निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न सकिन्छ ।’
कार्यक्रममा क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले सबै दललाई निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह गरे । क्षेत्रीय अधिकृत अर्यालले निर्वाचन आचारसंहिता उलंघन भएको पाइएमा कानून बमोजिम कारबाही गरिने दृढता व्यक्त गरे ।

‘कुनै पनि राजनीतिक दलले आफ्ना उम्मेदवार तथा कार्यकर्तालाई जसरी पनि चुनाव जित्नुपर्छ भन्ने दबाव दिने गरेका कारण हिंसाका घटना बृद्धि हुने गरेकाले यस्तो मानसिकतामा परिवर्तन आवश्यक छ ।’

क्षेत्रीय निर्वाचन अधिकृत अर्यालका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
उनले निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमाबारे जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारले पाँच लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् । त्यस्तै, वडाध्यक्ष तथा वडा सदस्यले दुई लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।
त्यस्तै, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार र वडाध्यक्ष तथा वडा सदस्यले दुई लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्यले एक लाख ५० हजार रुपैयाँभित्र रहेर खर्च गर्न पाउने आयोगको निर्देशिका उल्लेख छ । ‘निर्वाचनमा प्रचारप्रसारका लागि तोकिएको रकमभन्दा बढी खर्च गरिएको पाइएमा ६ वर्षसम्म कुुनै पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्था रहेको छ’ उनले भने ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चुुनावको समयमा हुन सक्ने सम्भाव्य हिंसात्मक गतिविधि नियन्त्रणका लागि जिल्लामा सुरक्षाव्यवस्था मजबुत बनाइएको बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले चुनावको समयमा उत्पन्न हुने कुनै पनि किसिमको समस्या समाधानका लागि विभिन्न पक्षको सहभागितामा जिल्ला समन्वय समिति गठन गरिने बताए ।
उनले निर्वाचनको समयमा तीन तहको सुुरक्षा घेरा बनाइएको बताए । उनले भित्री घेरामा म्यादी प्रहरी तथा प्रहरी, बीचको घेरामा सशस्त्र प्रहरी र बाह्य घेरामा नेपाली सेनालाई परिचालन गरिने बताए ।
विगतका निर्वाचनको अनुुभव, मतदान केन्द्रबाट वस्तीको दूरीको अवस्था, बाटोघाटो, जनसंख्याको बाहुल्यता लगायतका २० देखि २५ वटा मानक बनाएर कैलालीका विभिन्न मतदानस्थललाई संवेदनशील क्षेत्र तोकेको प्रजिअ रिजालले जानकारी दिए । उनले निर्वाचनको समयमा ठूलो घटना भएमा पाँच मिनेटभित्र सुुरक्षा टोली पुुग्ने गरी व्यवस्था मिलाइएको बताए । कैलाली जिल्लामा एक हजार तीन सय ३६ जना म्यादी प्रहरी परिचालन गरिएको बताए ।
उनले कैलालीका पहाडी क्षेत्रमा चाडो सुुरक्षा व्यवस्था पुुर्‍याउन दुई वटा हेलिकोप्टर तैनाथ राखिने बताए । त्यस्तै, चुरे तथा मोहन्याल गाउँपालिकाबाट मतपेटीकाहरू संकलन गर्न बढी समय लाग्ने भएकाले हवाई यातायातबाट संकलन गर्न माग भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुुढामगरले हिंसाको जग विवाद भएकाले विवादलाई चाडो हल गर्न सकेमा समस्या समाधान हुने बताए । ‘निर्वाचनको सम्बन्धमा राजनीतिक दलहरू पूर्णरूपमा जिम्मेवार हुनुुपर्छ’ उनले निर्वाचन सम्बन्धी कर्मचारी तथा सुुरक्षा निकायहरू पूर्णरूपमा पक्षपातरहीत हुनुपर्ने बताए ।
उनले कैलालीका ८६ वटा मतदानस्थललाई अति संवेदनशील, ८३ मतदानस्थललाई संवेदनशील र ६२ मतदानस्थललाई सामान्य भनेर वर्गीकरण गरिएको बताए ।
प्रहरी नायव उपरीक्षक बुढामगरले विभिन्न क्षेत्रमा प्रहरी मोबाइल टोली परिचालन गरिने र घटनाको आधारमा गोली हान्ने समेत अधिकार दिइएको जानकारी दिए । उनले भने– ‘सुरक्षा भनेको कुुनै व्यक्तिको वरिपरि सुुरक्षा गार्ड खटाउनेभन्दा पनि सुुरक्षाको प्रत्याभूुत गराउन सक्नुु नै हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार