२३ बैशाख २०८१, आईतवार

वडा कार्यालयका लागि ज्ञापनपत्र



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ६, जालीबासीले वडा कार्यालय जालीमै राख्नुपर्ने मागसहित बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सो वडाको ढुंगेबजारमा स्थापना गरिएको वडा कार्यालय प्राय:का लागि अपायक भएको भन्दै जालीमै राख्ने माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएका थिए ।
जालीबासीले वडाको समग्र भौगोलिक दृष्टी तथा संघिय पुर्नसंरचना निर्धारण गरेको स्थानमा नै वडा कार्यालय राख्नुपर्ने मागसहित एक सातादेखि आन्दोलन गरिरहेको बताए ।
धनगढी उपमहानगरपालिकाले घर भाडाका लागि पहिलो पटक सूचना जारी गर्दा कतैबाट आवेदन आएको नपरेको र दोस्रो सूचनापछि धनगढी उपमहानगरपालिका–६ जाली र मटियारीबाट निवेदन परेको जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले जालीबाट परेको निवेदनलाई दृष्टिगत गर्दै सम्झौताका लागि पटकपटक पत्राचार गर्दा पनि घरधनीले सम्झौता नगरेकाले दोस्रो घरधनीसंग सम्झौता गरेको धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए ।
उनले आफुहरुले नियम विपरित काम नगरेको र सम्झौता भएको घरबाट वडा कार्यालय एक वर्षका लागि हटाउन सम्भव नभएको बताए ।
धनगढी उपमहानगरपालिकाले अस्थायी रुपमा मटियारीमै वडा कार्यालय स्थापना गरे पनि स्थायी रुपमा जालीमै वडा कार्यालयको आफनै भवन निर्माण गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार