३१ भाद्र २०८१, सोमबार

अत्तरिया महिला कप क्रिकेट : तयारी अन्तिम चरणमा



धनगढी । कैलालीको अत्तरियामा हुने देशकै सर्वाधिक धनराशिको अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिता एक सातापछि सुरु हुने आयोजक अत्तरिया युनाइटेड स्पोटर््स क्लबले जनाएको छ । प्रतियोगितामा देशका विभिन्न छ टोलीले भाग लिने छन् ।
वैशाख २१ गतेदेखि हुने महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताका लागि मैदान बाहेकका अन्य तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबका अध्यक्ष रवि खनालले जानकारी दिए ।
‘महिला क्रिकेट प्रतियोगिता थोरै भइरहेको बेला महिला क्रिकेटको विकास गर्ने लक्ष्यका साथ देशकै सर्वाधिक धनराशिको प्रतियोगिता आयोजना गरिरहेका छौँ’ अध्यक्ष खनालले भने– ‘क्रिकेटमा सुदूरपश्चिम चिनिने थालेपछि महिला क्रिकेटको पनि सम्भावना रहेकोले यो आयोजना गरिएको छ ।’
प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी काकरभिट्टा, राइजिङ क्रिकेट वुमन, केडिसिए अत्तरिया, कञ्चनपुर ११ र बारा महिला क्रिकेट क्लबको सहभागिता रहने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गराइनेछ । लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
करिब ३५ लाख रुपैयाँ खर्च हुने टि–२० को विजेताले उपाधिसहित दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, प्लेयर अफ द सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट बलिङ पर्फर्मेन्स र विकेट किपरलाई दश/दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, हरेक खेलको प्लेयर अफ द म्याचले तीन हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार