१२ श्रावण २०८१, शनिबार

फुटबलर ममताको परिवारलाई आर्थिक सहयोग



धनगढी । अखिल नेपाल फुटवल संघ (एन्फा) ले फुटवल खेलाडी ममता सिकेको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
कैलालीको फूलवारीका फुटवलर ममताको केही महिनाअघि निधन भएको थियो । एन्फाले उनको परिवारलाई सोमबार ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
एन्फाका केन्द्रीय सदस्य गणेश चन्दको पहलमा संकलित सहयोग रकम ममताका आमा बसुन्धरालाई हस्तान्तरण गरियो । कैलाली जिल्ला फुटवल संघका अध्यक्ष प्रकाश बिष्टसहितको टोलीले ५० हजार रुपैयाँको चेक उनलाई प्रदान गरेको थियो ।
कैलालीबाट विभिन्न क्षेत्रीय तथा राष्ट्रिय महिला फुटवल प्रतियोगितामा सहभागी बनेर उत्कृष्ट खेल प्रदर्शन गरेकी ममताले नेपाली महिला फुटवलको विकास र विस्तारमा गरेको महत्त्वपूर्ण योगदानको सम्मानस्वरूप सो सहयोग प्रदान गरिएको जिल्ला अध्यक्ष बिष्टले बताए ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा कैलाली जिल्ला फुटवल संघका महासचिव अनिल मल्ल, सदस्य रामदत्त भट्ट र धनगढी युवा क्लव अध्यक्ष राजेश गिरीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार