१२ श्रावण २०८१, शनिबार

नेपाली काँग्रेसको धनगढी नगर सम्मेलन



धनगढी । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका नगर कार्यसमितिको १३ औँ महाधिवेशन पछिको पहिलो नगर सम्मेलन आइतबार भएको छ ।
नगर सभापति नृप वडको अध्यक्षतामा भएको सम्मेलनको कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै ओझाले स्थानीय चुनाव काँग्रेसको अस्तित्वसँग जोडिएको विषय भएकाले काँग्रेसलाई एक नम्बर पार्टी बनाउन जरुरी रहेको बताए । ‘नेपाली काँग्रेसले जहिले पनि जनताको हितमा काम गर्छ, गरिरहेको छ र गरिनै रहने छ’, उनले भने ‘अहिले नेपाली काँग्रेसको मूल नारा भनेको समृद्धि हो ।’ ‘संविधान जारी भइसकेको छ, अब जनता समृद्धि चाहन्छन्’, उनले भने ‘राष्ट्रलाई समृद्धितर्फ लग्न नेपाली काँग्रेसको नेतृत्व जरुरी छ ।’
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति नरनारायण शाह (मनु)ले मतदाताको पहिचान गरी योग्य, ईमान्दार व्यक्तिलाई नै पार्टीले उम्मेदवार बनाउने बताए ।
कार्यक्रममा पूर्व सांसद प्यारेलाल रानाले पार्टीको उम्मेदवारको पक्षमा चुनाव प्रचार–प्रसारमा जुटन् आग्रह गरे । कार्यक्रममा पूर्व सांसद हिरा भट्टले चुनावको समयमा काँग्रेसभित्र रहेका आन्तरिक मतभेदलाई अन्त्य गरी अघि बढ्न अनुरोध गरे ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य नारायणदत्त भट्ट, नारायणदत्त मिश्र, महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारी, कृष्ण महरा, पूर्व क्षेत्रीय सभापति उद्धव विष्ट, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नेतृ पुष्पा भट्ट, तरुणदल क्षेत्रीय सभापति केशवराज पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सम्मेलनमा नेपाली काँग्रेस जिल्ला सदस्य नृपबहादुर सुनारले पार्टीको नगर घोषणापत्र प्रस्तुत गरेका थिए । नगर उपसभापति ईश्वर जोशीले स्वागत गरेको कार्यक्रमको सचिव यज्ञराज उपाध्यायले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार