३१ भाद्र २०८१, सोमबार

अन्नपूर्ण कर्पोरेट ब्याटमिन्टनमा कडा प्रतिष्पर्धा, फाईनल खेल आज



धनगढी । धनगढीको क्षेत्रीय रंगशालामा जारी अन्नपूर्ण पोस्ट इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगितामा क्वार्टर फाईनल र सेमी फाईनल चरणका खेलहरू सम्पन्न भएका छन् ।
प्रतियोगिताका रेफ्री उदय अर्यालका अनुसार आइतबार भएको पुरुष सिंगलतर्फ सेमिफाइनल खेलमा देवराज राना(कैलाली)ले अमृत चौधरी(कैलाली)लाई २१–८, २१–१८ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् भने गोकुल जोरा(कैलाली)ले प्रियन्सु क्षेत्री(कञ्चनपुर)लाई २१–१६,२१–१७ ले पराजित गरेर फाईनल पुगेका छन् ।
महिला सिंगलतर्फ सेमिफाइनलमा प्रार्थना देउवा(कैलाली)ले सीमा चौधरी(कैलाली)लाई २१–४, २१–४ ले पराजित गरी फाइनलमा प्रवेश गरेकी छिन् । अम्बिका मल्ल(कैलाली)ले एलिना तिरुवा(कैलाली)लाई २१–१५, २१–१३ले पराजित गरी फाइनल खेलको यात्रा तय गरेकी छिन् ।
पुरुष डबल्स्तर्फ भएको सेमिफाइनल खेलमा सुनिल श्रेष्ठ र दिलिप देउवा(कैलाली) को जोडीले पदमराज भट्ट र मंगलबहादुर जिएम(कैलाली)को जोडीलाई २१–१७, २१–१२ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी, राजेन्द्र बम र प्रकाश चन्द(कैलाली)को जोडीले छेदुप्रसाद चौधरी र लक्ष्मीप्रसाद चौधरी(कैलाली) को जोडीलाई २१–११, २१–१५ ले पराजित गरी फाइनलको यात्रा तय गरेका छन् ।
तीनै चरणका फाईनल खेल सोमबार क्षेत्रीय रंगशाला धनगढीमा हुनेछन् । अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले क्षेत्रीय स्तरको खेलमा जितेका खेलाडीहरूलाई काठमाडौंमा खेल खेल्न आउँदा/जाँदा यातायात खर्च आयोजकले उपलब्ध गराउने उनले बताए । ‘बिगतमा हामीले उपत्यकामा मात्र कर्पोेरेट ब्याटमिन्टन प्रतियोगिता गर्दै आईरहेका थियौं’ उनले भने ।
‘अब देशभरका ब्याटमिन्टन खेलाडीहरूलाई हौसला बढाई, उनीहरूलाई ब्याटमिन्टन खेल प्रति आकर्षित गराउन क्षेत्रीय स्तरमा समेत प्रतियोगिता संचालन गरेका हौं, यो प्रतियोगिता उनीहरूको क्षमता प्रर्दशन गर्ने ठूलो प्लेटफर्म बन्ने हामीले अपेक्षा गरेका छौं,’ बस्नेतले भने ।
प्रतियोगितामा सुदूरपश्चिमभरीका ६८ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । पुरुष डबल्समा २२ जोडी, पुरुष सिंगलमा १६ जना र महिला सिंगलमा ८ जनाले सहभागिता जनाएका थिए ।
अन्नपूर्ण मिडिया नेटवर्कले शनिबारदेखि सुरु गरेको सुदूरपश्चिमाञ्चल स्थारीय क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिताको सोमबार फाईनल खेल हुने छन् । यस्तै, मध्यपश्चिमको नेपालगञ्जमा, बैशाख १७ गतेदेखि १९ गते, मध्यपश्चिमाञ्चलको बुटबलमा पनि १७ गतेदेखि १९ गते, पोखरामा बैशाख २१ गतेदेखि २३ गते, र पुर्वाञ्चलको ईटहरीमा बैशाख २ गतेदेखि २८ गतेसम्म क्षेत्रीय प्रतियोगिताको आयोजना गर्नेछ ।
सबै प्रतियोगितामा प्रथम र द्वित्तीय हुने खेलाडीलाई आतेजाते यातायात खर्च दिएर अन्नपूर्ण मिडिया नेटवर्कले काठमाडौं बोलाउने र देशैभरीबाट छनौटमा परेका खेलाडीले काठमाडौंमा अन्य १४ वटा देशका अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार