१२ श्रावण २०८१, शनिबार

नेपाली काँग्रेसद्वारा चुनावी प्रचारप्रसार तीब्र



धनगढी । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका समितिले विभिन्न वडामा चुनावी प्रचारप्रसार तीब्र बनाएको छ ।
चुनावी प्रचारप्रसारका क्रममा उपमहानगरपालिकाका सबै १९ वडामा निर्वाचन प्रचारप्रसार सचिवालय स्थापना कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।
नगर सभापति तथा मेयरका दावेदार नृप वडका अनुसार शुक्रबारसम्म धनगढीका १८ वटा वडामा प्रचारप्रसार सचिवालयको स्थापना भइसकेका छन् । उनले बाँकी रहेको नौ नम्बर वडामा पनि आज (शनिबार) सचिवालय स्थापना गरिने बताए ।
त्यस्तै, पार्टीले विभिन्न वडा, टोल र वस्तीमा कोणसभा तथा घरदैलो अभियानलाई पनि तीब्र बनाएको उनले बताए ।
नगर सभापति वडले चुनावी प्रचारप्रसारको पहिलो चरणको कार्यक्रम अन्तर्गत सचिवालय उद्घाटन र घरदैलो कार्यक्रम पुरा भएपछि दोस्रो चरणको अभियान अघि बढाइने बताए ।
यस क्रममा टोल समितिहरूमा बैठक, कार्यकर्ता अन्तरक्रिया, वडास्तरीय चुनावी सभा लगायतका कार्यक्रम गर्ने तयारी भइरहेको जनाइएको छ ।
यसैबीच, शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा बसेको वडा समितिको बैठकले विभिन्न टोल समितिमा बैठक तथा अन्तरक्रिया गर्ने र चार स्थानमा चुनावी आमसभा गर्ने लगायतको निर्णय गरेको छ ।
वडा सभापति डण्डीराज सुवेदीका अनुसार सो वडामा नेपाली काँग्रेसका १० वटा टोल समिति रहेका छन् । वडा सभापति सुवेदीको अध्यक्षतामा बसेको बैठकले मटियारी, दोघरा नजरीया, पिपलचौक जाली र विजुलीया टोलमा आमसभा गर्ने निर्णय गरेको छ ।
वडा सचिव श्रवण देउवाले कोही पनि क्रियाशील सदस्यले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध प्रचारप्रसार गरेको पाइएमा तत्काल साधारण सदस्य समेत नरहने गरी कारबाही प्रक्रिया अघि बढाइने समेत निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार