१२ श्रावण २०८१, शनिबार

विभिन्न निर्णय गर्दै महासंघको बैठक सम्पन्न



बर्दगोरिया (कैलाली) । नेपाल पत्रकार महासंघ कैलालीको दोस्रो बैठक विभिन्न निर्णय गर्दै शुक्रबार सम्पन्न भएको छ । बैठक कैलालीको बर्दगोरिया गाउँपालिकास्थित पर्यटकीय क्षेत्र बर्दगोरियामा भएको थियो । बैठक महासंघका अध्यक्ष जगत साउँदको अध्यक्षतामा बसेको थियो ।
बैठकले पत्रकार महासंघ कैलालीको अभिलेखिकरण गर्न सचिव मीन ठकुरीको संयोजकत्वमा पाँच सदस्यीय अभिलेखीकरण समिति गठन गरेको छ । समितिको सदस्यमा छविलाल जैसी, दिनेश दहित, सुनील आउजी र दिलबहादुर चौधरी रहेका छन् ।
बैठकले महासंघका जिल्ला कोषाध्यक्ष हिमाल जोशीको संयोजकत्वमा आपतकालीन उद्दार कोष समिति गठन गरेको छ । समितिको सदस्यमा सुरज साउँद, तपेन्द्र कुँवर, कृत बिष्ट र राम दहित रहेका छन् ।
बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष साउँदले श्रमजीवी पत्रकारको अवस्था अध्ययनका लागि सञ्चार गृह अनुगमन र पत्रकारहरूको अवस्था तथा वार्षिक प्रतिवेदन प्रकाशित गर्न उपाध्यक्ष दुर्गा देवकोटाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको बताए । सो समितिको सदस्यमा उपाध्यक्ष टंक कुँवर, सहसचिव श्रवण देउवा, सदस्यहरू देवानन्द न्यौपाने, टिआर कठरिया, रविना चौधरी र भीम विक सदस्य रहेका छन् ।
बैठकले बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन सफल बनाउन सहयोग गर्ने निर्णय गर्नुका साथै, निर्वाचन अवधिमा पत्रकार आचारसंहिता पालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चार गृहलाई आग्रह गरेको छ ।
बैठकले महासंघको पहलमा पत्रकार महेश्वरा चन्दलाई २१ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइएको र पत्रकार नृप रावलले पारिश्रमिक नपाएको भनेर महासंघमा दिएको निवेदनबारे कारबाही अगाडि बढाउने पनि निर्णय गरेको छ ।
त्यस्तै, केही दिनअघि दुर्घटनामा घाइते भएर हाल स्वास्थ्यलाभ गरिरहेका महासंघ कैलालीका सदस्य देवानन्द न्यौपानेलाई सहयोग स्वरूप १० हजार रुपैयाँ प्रदान गर्ने र थप सहयोगका लागि महासंघको केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
बैठकले बर्दगोरिया धार्मिक पर्यटकीय स्थलको विकासका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार