१२ श्रावण २०८१, शनिबार

मतदानको जानकारी दिन स्वयंसेवक परिचालन



धनगढी । आसन्न स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान सम्बन्धी जनचेतना तथा मतदान गर्ने प्रक्रियाबारे जानकारी दिन कैलाली जिल्लामा चार सय ९० जना स्वयंसेवक परिचालन गरिएको छ ।
एउटै मत पत्रमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, दुई महिला (एक दलित महिला) र दुई खुला गरी सात चिन्हमा मतदान गर्नुपर्दा मतदाताहरू अलमलमा पर्न सक्ने भन्दै यही वैशाख २ गतेदेखिनै हरेक स्थानीय तहका वडामा चार सय ९० स्वयंसेवक परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ ।
यसरी गाउँवस्तिमा खटाइएका स्वयंसेवकहरूले आम मतदाताहरूलाई मतदात गर्ने तरिका र मतदान गर्ने समयका बारेमा जानकारी गराउने जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी प्रेमराज भट्टले जानकारी दिएका छन् ।
कैलालीमा रहेका चार लाख तीन हजार मतदाताहरूलाई जिल्ला निर्वाचन कार्यालयबाट मतदाता शिक्षाका लागि खटाइएका स्वयंसेवकहरूले वैशाख २६ गतेसम्म मतदानका बारेमा जानकारी गराउने र २७ गतेदेखि मतदाता परिचयपत्र वितरण गर्ने काममा सघाउँने समेत सूचना अधिकारी भट्टले जानकारी दिए ।
यस अघिका निर्वाचनहरूमा बदर मत सङ्ख्या निक्कै बढी हुने गरेको हुँदा आसन्न स्थानीय निर्वाचनमा बदर मतको सङ्ख्या न्यून बनाउन सबै मतदाताहरूलाई सो बारेमा राम्रो ज्ञान दिने उद्देश्यले ठुलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी भट्टले जानकारी दिए ।
यसरी खटाइएका स्वयंसेवकहरूलाई मतदाता शिक्षामा सहज होस भन्नका लागि प्रत्येक स्वयंसेवकको हातहातमा मतदाताहरूको नामावली समेत उपलब्ध गराइएको सूचना अधिकारी भट्टले जानकारी दिए । स्वयंसेवकहरूले आसन्न निर्वाचनमा सात स्थानमा मतदान गरिनु पर्ने हुँदा कुन स्थानमा कसलाई मतदान गर्ने ? के गरे मत बदर हुन्छ ? र कसरी मतदान गर्दा आफ्नो मत सदर हुन्छ ? भन्ने बारेमा मतदाताहरूलाई जानकारी दिने जनाइएको छ । यसका अलावा जिल्ला निर्वाचन कार्यालय कैलालीले विभिन्न पोष्टर, पम्प्लेट तथा सञ्चार माध्यामहरूमा सूचना प्रवाह गरेर पनि मदतादाहरूलाई मतदान गर्ने तरिका बारेमा जानकारी दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार