१२ श्रावण २०८१, शनिबार

सरगमाथा सिमेन्ट डिपिएल : धनगढी शीर्ष चारमा, रूपन्देहीको अपराजित यात्रा रोकियो



    धनगढी । धनगढी टिम चौराहले ठुलो उलटपुलट गर्दै धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को शीर्ष चारमा स्थान सुरक्षित गरेको छ । यस वर्षको डिपिएलमा लगातार चार खेल जितेको रूपन्देहीको अपराजित यात्रा टुंग्याउँदै धनगढी टिम चौराहले सोमबार लीगको प्लेअफ चरणमा स्थान बनायो ।
लिगका सोमबारको अन्तिम खेलमा धनगढीका बलरको कसिलो र घातक बलिङ उल्लेख्य रह्यो । धनगढीका ललित राजबंशीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले चार ओभरमा दुई मेडन राख्दै जम्मा पाँच रन खर्च गरे ।
यस वर्षको डिपिएलमा अहिलेसम्म खराब प्रर्दन गरेका कप्तान पारस खड्का सोमबार भने पुन: लयमा आए र उनले २१ बलमा दुई विशाल छक्का र ७ चौका हिर्काउँदै ४२ रनको बिष्फोटक पारी खेले । फलत: धनगढीले रूपन्देहीमाथि ६ विकेटको सानदार जीत दर्ज गर्‍यो । अन्तिम खेल अघि अङ्क तालिकामा जम्मा दुई अङ्कसहित सबैभन्दा पुछारमा रहेको धनगढीका लागि सोमबारको खेल ठुलो अन्तरले जित्नै पर्ने दबाब थियो । र निर्णायक खेलमा धनगढीले एसएसपी खेल मैदानमा ठुलो सङ्ख्यामा उपस्थित भएका घरेलु दर्शकलाई निराश पारेन ।
टस रूपन्देही च्यालेन्जर्सले जितेर ब्याटिङ गर्ने निर्णय गर्‍यो । तर, सुरुदेखि नै रूपन्देहीका एकपछि अर्को गर्दै ब्याट्म्यान छिटोछिटो आउट हुँदै गए । धनगढीका स्ट्राइक बलर ललित राजबंशीले सुरुवातका तीन विकेट लिए । रूपन्देही १६ रनस्कोरमा चार विकेट गुमाइसकेको थियो । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका प्रकाश केसीले ३ छक्का र चार चौका हिर्काउदै ४९ रनको आकर्षक पारी खेले भने अन्तिम थापाले ११ (२२ बल) को धैर्यपूर्ण इनिङ खेले । रूपन्देहीका दुई खेलाडी शून्यमा आयट भए भने तीन जनाले दोहोरो अङ्क छुन सकेनन् । धनगढीका बलरले जम्मा ७ रन मात्र अतिरिक्त दिएका थिए ।
प्रतिउत्तरमा धनगढी टिम चौराहले ११ औँ ओभर मै चार विकेट क्षतिमा विजय लक्ष्य पार गर्‍यो । धनगढी ५५ रनमा तीन विकेट गुमाए पनि कप्तान पारसको बिष्फोटक पारिले धनगढीलाई सहज जीततर्फ उन्मुख गराएको थियो । रूपन्देहीका लागि साहद आलमले दुई र कृष्ण कार्कीले १ विकेट लिए ।
सोमबारको अन्तिम लिग खेलमा धनगढी टिम चौराहाले प्लेअफमा पुग्न १४ ओभर तीन बलभित्रै जित्नु पर्ने थियो । उसले ११ औँ ओभरमै लक्ष्य प्राप्त गरेपछि अङ्क तालिकमा समान चार अङ्क रहेको कञ्चनपुर आइकोनिक प्लेअफ चरणबाट झिनो नेट रनरेट अन्तरले बाहिरिएको छ । अङ्क तालिकमा चार अङ्क रहेको सिवाइसी अत्तरिया पनि नेट रनरेटका आधारमा तालिकामा सबैभन्दा पुछारमा रहेको छ ।
अङ्क तालिकामा ८ अङ्कसहित रूपन्देही शीर्षस्थानमा रहेको छ । त्यस्तै, छ अङ्कका साथ बिराटनगर किंग्स दोस्रो स्थानमा छ भने चार अङ्क रहेका काठमाडौँ गोल्डेन्स तेस्रो स्थानमा रहेको छ ।
डिपिएलको फाइनल स्थानका लागि रूपन्देही र विराटनगर तथा काठमाडौँ र धनगढीबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार