११ श्रावण २०८१, शुक्रबार

काँग्रेस सम्पर्क कार्यालयमा तोडफोड र आगजनी



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–६, गुलरामा रहेको नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा आइतबार राति तोडफोड र आगजनी भएको छ । राति करिब डेढ बजेतिर तोडफोड र आगजनी भएको जनाइएको छ ।
अज्ञात समूहले आगजनी र तोडफोड गर्न थालेपछि घर मालिक डबल विष्टले प्रतिकार गर्न खोज्दा उनीमाथि कुटपिट भएको थियो । आक्रमणकारी चार जनाको समूहमा रहेको विष्टले बताए ।
नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता परशुराम चौधरीले आक्रमणकारीहरूले सम्पर्क कार्यालयमा राखिएका पार्टीका झन्डा जलाउनुका साथै फर्निचर तोडफोड गरेको बताए ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाबारे सूचना पाउने बित्तिकै प्रहरी त्यहाँ पुगे पनि आक्रमणकारी फरार भएको बताए ।
यसैबिच नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ ले सोमबार नै प्रेस विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्ने दोषीलाई तुरुन्त पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
काँग्रेसका क्षेत्रीय सभापति भक्तबहादुर थापाद्वारा जारी विज्ञप्तिमा चुनाव विथोल्ने र चुनाव हार्ने डरले हतोत्साहित भएकाहरूले तोडफोड र आक्रमण गरेको भन्दै दोषीहरू पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार