११ श्रावण २०८१, शुक्रबार

धनगढी प्रिमियर लिग : तेस्रो जीतसहित बिराटनगर अङ्क तालिकामा माथि उक्लियो



धनगढी । धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा शनिवारको खेल जित्दै बिराटनगर किङ्स अङ्क तालिकामा दोस्रो स्थानमा उक्लेको छ । लिगमा यो बिराटनगरको तेस्रो जीत हो । शनिवार नै भएको अर्को खेलमा धनगढी टिम चौराहाले पहिलो जीत हासिल गरेको छ । गत वर्षको डिपिएल च्याम्पियन टिम चौराहाले यस पटकको लिगमा लगातार तीन खेल गुमाएको थियो ।
रूपन्देही च्यालेन्जर्स र बिराटनगरको अङ्क तालिकामा समान छ अङ्क भए पनि नेट रनरेटका आधारमा रूपन्देही पहिलो स्थानमा रहेको छ । बिरानगरले अहिलेसम्म खेलेका चारमध्ये तीन जीतेको छ भने एक खेल हारेको छ । रूपन्देहीले खेलेको सबै तीन खेल जितेको छ । यससंगै रूपन्देही र बिराटनगर लिगको प्लेअफ चरणमा पनि पुगेका छन् ।
पहिलो जीतसंग टिम चौराहा अंकतालिकामा पाँचौ स्थानमा पुगेको छ । कञ्चनपुर आइकोनिकको पनि दुई अङ्क भए पनि नेट रनरेटका आधारमा धनगढी टिम चौराहा पाँचौ स्थानमा रहेको हो ।
शनिवार भएको पहिलो खेलमा बिराटनगरले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले हरायो । टस हारेर ब्याटिङ निम्तो पाएको कञ्चनपुरलाई ८० रनमा रोकेपछि बिराटनगरले सहज जीत हात पारेको हो ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलमा कञ्चनपुर १७ औँ ओभरमा ८० रनमा अलआउट भयो । कञ्चनपुरका हसीम अन्सारीले २७ रन बनाए । कञ्चनपुरका कुशल भूर्तेलले १९ र आशिष् पोखरेलले १० रन बनाए पनि बाँकी खेलाडीले दोहोरो अङ्क पनि छुन नसकेपछि कञ्चनपुर सानो स्कोरमा खुम्चिएको थियो ।
एक समय कञ्चनपुर नवौँ ओभरमा दुई विकेट क्षतिमा ५० रनमा थियो । त्यसपछि कञ्चनपुरले छिटोछिटो विकेट गुमाउन पुग्यो । उसको आठ विकेट ३० रनमा झरेको थियो ।
कञ्चनपुरलाई कम रनस्कोरमा समेट्न अहम् भूमिका निर्वाह गरेका विराटनगरका सुशील कँडेल र सन्दीप लामिछानेले चार–चार विकेट लिए । जीतेन्द्र मुखियाको भागमा दुई विकेट रह्यो ।
प्रतिउत्तरमा बिराटनगर किङ्सले ८१ रनको झिनो विजयी लक्ष्य दसौँ ओभरमा पाँच विकेट क्षतिमा पुरा गर्‍यो । बिराटनगरका कप्तान शरद भेषवाकरले १५ बलमा २८ रनको आक्रामक पारी खेले । त्यस्तै, आकाश थापाले १२ र प्रनित थापामगरले ११ रन बनाए । बिराटनगरका झरेका सबै पाँच विकेट कञ्चनपुर आइकोनिकका सागर पुन एक्लै लिएका थिए । सो खलमा विराटनगरका सुशील कँडेलले वेल्स क्याफे म्यान अफ द म्याचको पुरस्कार प्राप्त गरे ।
शनिवार नै भएको अर्को खेलमा लिगको पहिलो जीत प्राप्त गर्दै धनगढी टिम चौराहले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गर्‍यो ।
पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३६ रन बनायो । धनगढीका आरिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेले । यो यस वर्षको डिपिएलको दोस्रो अर्धशतक हो । यसअघि सिवाइसी अत्तरियाका योगेन्द्र सिंह कार्कीले एक अर्धशतक बनाएका थिए ।
धनगढीका कप्तान पारस खड्का शनिवारको खेलमा पनि असफल भए । उनी शून्य स्कोरमा पवेलियन फर्किए । धनगढीका अनिल मण्डलले २९, शौरभ खनालले १६ र राजु रिजालले ११ रन बनाएका थिए ।
बलिङतर्फ काठमाडौँका सोमपाल कामी र मञ्जित श्रेष्ठले तीन/तीन विकेट लिए ।
एक सय ३७ रनको विजयी लक्ष्यसाथ ब्याटिङमा उत्रिएको काठमाडौँ २० ओभरमा सबै विकेट गुमाएर एक सय २५ रनमा सीमित भयो । काठमाडौँका सन्दीप जोराले २८ र सोमपालले २४ रन बनाए । काठमाडौँमाथि ११ रनको जीत दिलाउने क्रममा धनगढीका आरिफ सेख र शौरभ खनालले तीन/तीन विकेट लिए भने रामनरेश गिरीले दुई विकेट चट्काए । धनगढीका आरिफ शेख वेल्स क्याफे म्यान अफ द म्याच घोषित भए ।
लिगको आइतबारको खेल विराटनगर किङ्स र रूपन्देही च्यालेन्जर्स तथा दोस्रो खेल सिवाइसी अत्तरीया र कञ्चनपुर आइकोनिकबीच हुने आयोजकले जनाएको छ ।
अङ्क तालिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार