११ श्रावण २०८१, शुक्रबार

दुई बालकलाई परिवारसँग पुनर्मिलन गराइयो



धनगढी । सिविन नेपाल, बाल हेल्पलाइन, क्षेत्रीय कार्यालय, धनगढीले बाजुराका दुई बालकलाई परिवारसँग पुनर्मिलन गराएको छ ।
आफ्नो परिवारबाट दुई वर्षदेखि सम्पर्क बाहिर रहेका बाजुराका दुई बालकलाई सिविन नेपालले शुक्रवार धनगढीमा अभिभावकको जिम्मा लगाएको छ ।
बाजुराका मदन शाही र रोशन धामीलाई काठमाडौँबाट उद्धार गरेर धनगढी ल्याई परिवारलाई जिम्मा लगाइएको सिविन नेपालका कार्यक्रम संयोजक माधव लोहनीले जानकारी दिए । ती दुवै बालकलाई पढाउने बहानामा कैलालीमा ल्याइएको भए पनि काठमाडौँ पठाएर घरेलु नोकर बनाइएको अवस्थामा फेला परेका कार्यक्रम संयोजक लोहनीले बताए ।
‘बालक शाहीलाई लम्कीमा आश्रम चलाउने कालीमाता भनिने नरिन्ताकुमारी शाहीले तनि वर्षअघि बाजुराबाट कैलालीमा ल्याएकी थिइन्’ कार्यक्रम संयोजक लोहनीले भने– उनलाई कैलालीमा रहेको नेपाल अनाथ आश्रममा दुई वर्ष पढाइएको र एक वर्ष अघि काठमाडौँ आफ्नो घरमा काम गर्न पठाएका पाइयो ।
कालीमाताको काठमाडौँमा रहेको घरमा बालक मदनलाई भाडा माझ्ने, खाना पकाउने लगायतका काममा लगाइएको र काम नगरे कुटपिट हुने गरेको बालकलाई उधृत गर्दै कार्यक्रम संयोजक लोहनीले बताए ।

मदनमाथि कुटपिट हुने क्रम बढेपछि उनले नजिकको प्रहरी कार्यालयमा उजुरी गरेको र त्यसपछि मात्रै घटना सार्वजनिक भएको थियो । ‘प्रहरीले केन्द्रीय बाल कल्याण समितिलाई जानकारी गराएपछि बालकहरूको बाल हेल्पलाईन र कल्याण समितिको संयुक्त पहलमा उद्धार गरिएको हो’ उनले भने ।
यस्तै, बाजुराका रोशन धामीलाई एक वर्ष अघि धनगढीमा पढाउने भनेर ल्याए पनि उनलाई पनि काठमाडौमा पाईलट राजेन्द्र सिलवालको घरमा काममा लगाइएको पाइएको उनले बताए । रोशनमाथि पनि कुटपिट हुन थालेपछि प्रहरीमा उजुरी गरेको र केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार