१२ श्रावण २०८१, शनिबार

धनगढी प्रिमियर लिग : रुपन्देही र काठमाडौँको लगातार दोस्रो जीत



  धनगढी । धनगढीमा जारी डिपिएल क्रिकेटको बुधवारको खेलमा रुपन्देही च्यालेन्जर्स् र काठमाडौँ गोल्डेन्स विजयी भएका छन् । दुवै टिमको यो लगातार दोस्रोजीत हो । यससँगै दुवै टिम अङ्क तालिकामा समान चार अङ्कसहित शीर्ष स्थानमा रहेका छन् ।
छ दशमलव पाँच रन प्रतिओभरको सामान्य विजय पाएको भए पनि विपक्षी सिविआई अत्तरियाका खेलाडी रुपन्देहीका बलर साहेव आलमको घातक र सटिक बलिङ सामु टिक्न सकेनन् । रुपन्देहीले दिएको एक सय ३० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अत्तरिया ८७ रनमै खुम्चियो । साहेवले चार ओभरमा एक मेडन ओभर राख्दै आठ रन खर्चेर चार विकेट झारेपछि अत्तरिया ४२ रनको हार बेहोर्न बाध्य भयो ।
टस जितेर ब्याटिङ गर्न ओर्लिएको रुपन्देहीले छ विकेट गुमाएर एक सय २९ रन बनायो । रुपन्देहीका राजेश पुलामीले ३१ र प्रकाश केसीले २९ रन बनाए । अग्रपङ्क्तिका ब्याट्सम्यानहरू सस्तैमा पवेलियन फर्केपछि रुपन्देही सानो स्कोरमा समेटिने सम्भावना बढेको वेला राजेश र प्रकाशल प्रतिस्पर्धा गर्न सकिने स्कोर बनाउन गतिलो योगदान दिएका थिए । उनीहरूले छैठौं विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । अत्तरियाका बलरहरूको अनिन्त्रित र फितलो बलिङका कारण पनि रुपन्देहीले फाइदा पाएको थियो । रुपन्देहीले २८ अतिरिक्त पाएको थियो ।
प्रतिउत्तरमा अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्लले मात्रै ३० रनको धैर्यपूर्ण पारी खेले । विनोद लामाको १८ र अविनाश बोहराको १४ रनबाहेक अरू खेलाडी असफल भएपछि अत्तरियाले हार बेहोर्नु पर्‍यो ।
खेलको म्यान अफ द म्याच समेत घोषित साहेवलाई साथ दिँदै विक्रम सोवले पनि दुई विकेट लिए ।
बुधवार नै भएको अर्को खेलमा काठमाडौँ गोल्डेन्सले विराटनगर किङ्सलाई ८६ रनको भारी अन्तरले हराएको छ ।
सुमित महर्जन (४४ रन, २७ बल), सोमपाल कामी (३९ रन, २० बल) र वसन्त रेग्मी (२४ बलमा ३० रन) तथा सुभेन्दु पाण्डे (२५ बलमा २७ रन) को बिस्फोटक पारिले काठमाडौँ गोल्डेन्सले २० ओभरको खेलमा पाँच विकेट मात्रै गुमाएर एक सय ७३ रनको विशाल स्कोर खडा गर्‍यो । काठमाडौँका नरेश बुढाऐरले पनि १३ रनको योगदान दिए ।
विशाल लक्ष्यको सामना गर्न उत्रेको बिराटनगर किङ्स १९ औँ ओभरमा ८७ रनमै अलआउट हुन पुग्यो । सुरुदेखि नै दबाबमा रहेको बिराटनगरमाथि ठुलो रन अन्तरले जीत प्राप्त गर्न सन्तोष भट्टले तीन, भूवन कार्की र वसन्त रेग्मीले दुई/दुई तथा मञ्जित श्रेष्ठ र सोमपाल कामीले एक/एक विकेट झारे ।
बिराटनगरका दिपेन्द्र ऐरीले २४ बलमा ३१ रन बनाएर केही आशा देखाएका थिए । त्यस्तै कप्तान शरद भेषवाकरले १३ रन बनाए । सो खेलको वेल्स क्याफे म्यान अफ द म्याच सुमित महर्जन बने ।

आज (बिहीबार) पहिलो खेल टिम धनगढी र कञ्चनपुर आइकोनिक तथा दोस्रो खेल बिराटनगर किङ्स र सिवाईसी अत्तरियाबीच हुने जनाइएको छ ।
धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा देशभरिका ६ टिम सहभागी छन् ।


कप्तान विनोद र सागरलाई चेतावनी
खेल भावना विपरीत व्यवहार गरेकोमा कञ्चनपुर आइकोनिकका कप्तान विनोद भण्डारी र खेलाडी सागर पुनले चेतावनी पाएका छन् ।
डिपिएल अन्तर्गत मङ्गलवार काठमाडौँ गोल्डेन्स र कञ्चनपुर आइकोनिकबीचको खेलमा अम्पायरको निर्णयप्रति असन्तुष्टी जनाउँदै खेल भावनाविपरित व्यवहार गरेकाले म्याचरेफ्रि बुद्धिबहादुर प्रधानले कञ्चनपुरका कप्तान विनोद र खेलाडी सागरलाई गम्भीर चेतावनी दिएका छन् ।
खेलका अम्पायरहरू दुर्गानाथ सुवेदी, विनयकुमार झा र रिजर्भ अम्पायर मन्जुल भट्टराईले सो घटनाबारे म्याचरेफ्री प्रधानसमक्ष कारबाहीका लागि माग गरेपछि चेतावनी दिएको जनाइएको छ ।
दुवै खेलाडीले आफूहरूबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा त्यस्तो व्यवहार नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै माफी मागेको लीगको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार