१२ श्रावण २०८१, शनिबार

निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुन्छ : आयुक्त शर्मा



धनगढी । निर्वाचन आयोगका आयुक्त इला शर्माले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताएकी छन् ।
सोमबार धनगढीमा आयोजित निर्वाचन अधिकृतहरूका लागि निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षण कार्यक्रममा निर्वाचन आयुक्त शर्माले आम नागरिकमा निष्पक्षताको आभास दिने गरी निर्वाचन गरिने बताइन् ।
निर्वाचन आयोगले बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै नयाँ अभ्यास, नयाँ संरचनामा हुन लागेको यो निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्नु आयोगको प्रमुख कर्तव्य रहेको बताइन् । उनले यो निर्वाचन विगतको भन्दा नयाँ रूपमा भइरहेकोले जिम्मेवारी र उत्तरदायित्व सम्झेर काम गर्न निर्देशन दिइन् ।
उनले स्थानीय तहको निर्वाचनबाट ३६ हजार भन्दा बढी जनप्रतिनिधि चुनिने भएको बताउँदै निर्वाचन आयोगले आचारसंहितालाई कडाईका साथ पालना गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन समेत दिइन् ।
दुई दिने प्रशिक्षणमा सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा, बर्दिया, बाजुरा, डडेल्धुरा गरी सात जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सहभागिता रहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नयाँ संरचनामा हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले स्थानीय तहको निर्वाचन सबैका लागि महाअभियान भएकाले त्यसलाई सम्पन्न गर्नका लागि सबैको महत्त्वपूर्ण योगदान हुने बताए । उनले निर्वाचन अधिकृतहरूले राजनीतिक दलसंगको यथोचित सम्बन्ध कायम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा बर्दिया जिल्लाका मुख्य न्यायधिश कुलप्रसाद शर्माले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्न आफूहरू तयार रहेको बताए । निर्वाचन आयोगले जिल्ला न्यायधिसलाई मुख्य निर्वाचन अधिकृत र उपसचिवस्तरका कर्मचारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।
स्थानीय तहको निर्वाचनमा झन्डै दुई लाख कर्मचारी, त्यत्तिकै सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार